काठमाडौं। नेपालका करिब ४० प्रतिशतभन्दा कम उद्योग मात्रै पूर्ण क्षमतामै चलेको पाइएको छ। केन्द्रीय तथ्यांक विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ को प्रतिवेदनमा ३९.९ प्रतिशत उद्योग मात्रै पूर्ण क्षमतामा चल्ने गरेको उल्लेख छ ।
‘सन्दर्भ अवधिमा औद्योगिक क्षेत्रका औद्योगिक प्रतिष्ठानहरूमध्ये ३९.९ प्रतिशतले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
पूर्ण क्षमतामा नचलेका उद्योगहरूमध्ये १८.७ प्रतिशतले उत्पादन क्षमताको ७५.९९ प्रतिशत उपयोग गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, २९.१ प्रतिशत उद्योगले उत्पादन क्षमताको ५०.७४ प्रतिशत, १०.३ प्रतिशत उद्योगले उत्पादन क्षमताको २५–४९ प्रतिशत र बाँकी उद्योगले उत्पादन क्षमताको २५ प्रतिशतभन्दा कम उपयोग गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
सर्वेक्षणमा खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत, ग्याँस, बाफ तथा वातानकुूलित सेवा र पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन तथा त्यसको उपचारात्मक क्रियाकलापहरू गरी चार किसिमका प्रतिष्ठानहरूको तथ्यांक विश्लेषण गरिएको छ ।
बजार वा मागको कमी, कच्चा पदार्थको अपर्याप्तता, स्रोतको कमी, सीपमूलक कामदार अभावलगायत कारणले उद्योगहरू पूर्ण क्षमतामा चल्न नसकेको प्रतिवेदनमा बताइएको छ ।
सर्वेक्षणको सन्दर्भ अवधि २०७५ साउन १ गतेदेखि २०७६ असार मसान्तसम्म रहेको छ ।