काठमाडौं। उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको वडा न. ८ झोडामा गरिएको सडक योजना गुणस्तरहिन भएको भन्दै उपभोक्ताहरुले विरोध जनाएका छन्। निर्माण समाग्रीहरु गुणस्तरहिन सामाग्री प्रयोग गरिएको र मापदण्ड अनुसारको काम नभएको भन्दै स्थानीयले विरोध जनाएका हुन्।
स्थानीय उमेश रायमाझीका अनुसार खाटमन्दिरदेखि झोडाटोलससम्म पिच हुनुअघिको सडक वेस बनाउने योजना गुणस्तरहिन भएको हो। ९९ लाख ७९ हजारको बजेट योजनाको काम मापदण्ड अनुरुप नरहेको आरोप उनको छ। उपभोक्ता समितिमार्फत गरिएको काम अपारदर्शी भएपछि उपभोक्ताहरुले प्रश्न उठाएका छन्। उपभोक्ताहरुलाई बजेट र स्टीमेटसम्म थाहा नदिएको उनको भनाई छ।
उपभोक्ता पृथ्वीबहादुर कार्कीका अनुसार स्थानीयले गुणस्तरको विषयमा कुरा उठाएपछि योजना विवादित बनेको छ। विवादकाबीच समितिले काम अगाडी बढाएको छ। प्रदेशमन्त्री हिमाल कार्कीले आप्mनै मञ्त्रालयबाट रकमान्तर गरी सो योजना गाउँको लागि पारेका थिए।
त्रिनपा–५ श्रीपुरमा सडक डिभिजन कार्यालय लहानले गरेको नालीको कामको गुणस्तरमा पनि उस्तै प्रश्न उठेको छ। नवरङ्ग कन्ट्रक्शनले ठेक्का लिई थालेको काम सुरुमै गुणस्तरहिन देखिए पछि स्थानीयले विरोध जनाएका छन्।
स्थानीय धनप्रसाद भण्डारीका अनुसारसो योजनामा नालीको बेस राम्रो नलगाइ हतारमा नाली बनाउन थालेको र निर्माण सामग्रीहरु गिट्टी, बालुवा, ढुङ्गा आदि कमसल ल्याएपछि स्थानीयले विरोध गरेका हुन्। स्थानीयको विरोधपछि ठेकेदारले करिब ९० लाखको उक्त योजनाको काम अगाडि बढाउन सकेको छैन।
यी दुई प्रतिनिधि घटना हुन्। अधिकांश योजनाहरु हतार हतारमा गरिने र टालटुले हुने गरेका छन्। यो बेला गरिएका अधिकांश कामहरुमा निर्माण सामग्रीहरु गुणस्तरहिन हुनुका साथै मापदण्ड अनुरुप नभएको उनीहरुको आरोप छ।
स्थानीयहरुका अनुसार नियमन निकायले पनि यतिबेला राम्रो अनुगमन नगर्ने हुदा उपभोक्ता समिति तथा ठेकेदारको बढि लापरवाही चल्ने गर्छ। मापदण्ड विपरित काम गर्ने, गिटि, बालुवा, ढुङ्गा गुणस्तरहिन हुने, सिमेन्ट कम मात्रा राखिने गरिन्छ। यसरी बनेका संरचनाहरु कमजोर हुने, भत्किने र प्रयोगमा नआउने हुन्छन्।
पूर्व जिल्ला समन्वय उपप्रमुख गंगा राईका अनुसार काम ढिलाई हुनु र गुणस्तरहिन हुनुमा सरकार स्वयम् पनि जिम्मेवार छ। संघ र प्रदेशबाट बजेट ढिलो आउनु, सम्झौता ढिलो हुनु, ठेक्का प्रक्रिया झन्जटिलो हुनुु, उपभोक्ता समितिमा झमेला वा ढिलाई हुनु जस्ता कारणले पनि काम प्रभावित हुने गरेको छ। गोरखापत्रबाट