काठमाडौं। श्वेत– गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आगामी साउन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको हो।
कम्पनीले जारी पूँजी रू.१ अर्ब ५९ करोड ३० लाख १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो।
जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिनेछ भने बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा आवेदन दिने समय साउन ८ गतेसम्म रहेको छ । उक्त समयसम्म माग बमोजिम आवेदन नपरेमा साउन १८ गतेसम्म थप हुनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो शेयर वेबसाइट तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको तल्लो लिखु जलविद्युत आयोजना (२८.१ मे.वा) निर्माण गर्नका लागि कूल खर्च रू. ६ अर्ब ३६ करोड २० लाख अनुमान गरिएको छ भने प्रतिमेगावट लागत खर्च रू.२२ करोड ६७ लाख लाग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ८९ दशमलव ८८ रहेको छ । त्यस्तै उक्त अवधिसम्म प्रतिशेयर आम्दानी रू.४ दशमलव ९२ ऋणात्मक रहेको छ भने संचित नोक्सानी ७ करोड ११ लाख रहेको छ ।