पाँचथर । राँके–रवि–बुधबारे सडकको काम समयमै नहुँदा अलपत्र परेको छ। भारतीय निर्माण कम्पनीको लापरबाहीका कारण उक्त सडकको काम हुन नसकेपछि काम अलपत्र परेको हो।
पाँचथरको राँकेदेखि रवि–६ नम्बर बुधवारे हुँदै धनकुटाको भेडेटार जोड्ने १०३ किलोमिटर सडक कालोपत्र गर्न ४ वर्ष अवधि तोकिएको थियो। तर उक्त समय सकिएको पनि सात महीना पुगिसकेको छ । काम भने अघि बढ्न सकेको छैन । काम शुरू भएको पाँच वर्ष पुग्न लाग्दासम्म वित्तीय प्रगति १७ र भौतिक प्रगति १९ प्रतिशत मात्र भएको सम्बन्धित सरकारी कार्यालयले जानकारी दिएको छ। ‘सम्झौता सकिँदासम्म न्यूनतम ३० प्रतिशत काम गरेकै हुनुपर्छ । मापदण्डअनुसार काम नभएकाले म्याद थप्न सक्ने अवस्था पनि छैन,’ कन्सलटेन्ट कम्पनी सिम्याटका इन्जिनियर स्वागत महर्जनले भने ।
तीन करोड २६ लाख १८ हजार डलर लागत रहेको उक्त सडक कालोपत्र गर्न भारतीय निर्माण कम्पनी एप्को इन्फ्रान्टले नेपाल सरकारसँग २०७५ सालमा सम्झौता गरेको थियो। सम्झौता अनुसार २०७८ मङ्सिरसम्म काम सम्पन्न हुनुपर्ने हो । सडक निर्माणका लागि भारतीय एक्जिम बैंकले आर्थिक सहयोग गरेको बताइएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्झौतालगत्तै २०७५ पुस २१ गते कालोपत्र गर्न उद्घाटन गरेका थिए ।
भौतिक प्रगति न्यून गरेको निर्माण कम्पनीले श्रमिकलाई नियमित पारिश्रमिक पनि दिएको छैन । इन्जिनियर महर्जनका अनुसार निर्धारित समयमा काम नसकिए पहिलोपटक म्याद थप गर्न ३० प्रतिशत काम सकिएकै हुनुपर्छ । ३० प्रतिशतभन्दा कम मात्रै काम गरेकाले म्याद थप्दा दैनिक शून्य दशमलव एक प्रतिशतका दरले जरीवाना तिर्नुपर्छ । एप्को इन्फ्रान्टका सञ्चालक जरीवाना तिरेर म्याद थप्ने मानसिकतामा नदेखिएका उनको भनाइ छ ।
कोभिड र झरीका कारण काममा ढिलाइ भएको एप्को इन्फ्रान्टका प्रोजेक्ट म्यानेजर राजु सिंहले बताए । कालोपत्र गर्न जिम्मा लिएको उक्त कम्पनीले १०३ किलोमिटर लामो सडक १ नम्बर प्रदेशका पाँचथर, इलाम, मोरङ र धनकुटालाई जोड्ने उद्देश्यले करीब तीन दशकअघि नै शुरू गरिएको विवरण सडक डिभिजन कार्यालय इलामसँग छ ।
उक्त सडक मेची राजमार्ग अन्तर्गत इलाम–फिदिम खण्डमा पर्ने राँके बजारबाट शुरू भएर देउराली, घुर्विसे पञ्चमी, सप्तमी, रवि, चिसापानी पञ्चमी, कम्फुटार, लेकगाउँ, ६ नम्बर बुधबारे, सौरे, मुढेवास, समिया, चौकीभञ्ज्याङ, राजारानी, डाँडाबजार, ओख्रे र नाम्जे हँुदै कोसी राजमार्गको धरान–धनकुटा सडकखण्डमा पर्ने भेडेटार पुग्ने बताइएको छ ।