काठमाडौं। नेपालस्थित चिनियाँ लगानीकर्ता र ठेकेदार जोडिएका आयोजनामा भारतले विस्फोटक पदार्थ दिन छाडेको छ । सडक, जलविद्युत् तथा सुरुङ आयोजना निर्माणका क्रममा प्रयोग हुने विस्फोटक सामग्री नआउँदा केही आयोजना काम रोकिने अवस्थामा पुगेका छन् ।
विस्फोटक सामग्री नपाउँदा धेरै जलविद्युत् र सडक आयोजनाका काम प्रभावित भएका छन् । मध्यतमोर, रसुवा भोटेकोसी, सान्जेन खोला र नीलगिरि जलविद्युत् आयोजनाको काममा बढी असर परेको छ । चीनको सीमानजिक भएका कारण किमाथांका जलविद्युत् आयोजनामा पनि भारतले विस्फोटक पदार्थ दिन आनाकानी गरिरहेको छ ।
भारत सरकारअन्तर्गत पेट्रोलियम तथा सुरक्षा संगठनले गत अप्रिल १३ मा नेपालका सम्बन्धित निकायलाई पत्राचार गर्दै विस्फोटक सामग्रीमा रोक लगाएको जनाएको थियो । त्यसको एक सातापछि अप्रिल १९ मा निर्यात खुला गरिएको जानकारीसहित भारतले अर्को पत्र पठायो । तर त्यसयता सहज आपूर्ति हुन नसकेको विस्फोटक आपूर्तिकर्ता र विकास आयोजना प्रवर्द्धकको भनाइ छ ।
‘विस्फोटक सामग्री आयात गर्न भारतीय दूतावासले आपूर्तिकर्तालाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) दिने गरेको थियो । अहिले नयाँ एनओसी वितरण र पुरानो नवीकरण दुवैमा दूतावासले अल्झाउने गरेको छ । मुख्य गरी चिनियाँ लगानी, चिनियाँ ठेकेदार र कामदार जोडिएका आयोजनामा विस्फोटक पदार्थ रोकेको जस्तो देखिन्छ,’ ब्रह्मायणी हाइड्रो प्रालिका अध्यक्ष भरत पराजुलीले भने, ‘अहिले केही आयोजनामा मात्रै समस्या छ ।
यही अवस्था रहे एक–दुई महिनाभित्र अधिकांश विकास आयोजनाको काम रोकिने देखिन्छ ।’ विस्फोटक किन्नका लागि यस्तो एनओसी प्रत्येक ६ महिनामा नवीकरण गर्नुपर्छ । तर पछिल्ला तीन महिनादेखि नयाँ एनओसी दिने र पुरानो एनओसी नवीकरण भारतीय दूतावासले रोकेको आपूर्तिकर्ताको भनाइ छ । चिनियाँ कम्पनीहरूका लागि विस्फोटक पदार्थ ल्याउन समस्या देखिएको एक आपूर्तिकर्ताले बताए । ‘एक त अन्तर्राष्ट्रिय बजारमा नै अभाव छ । भारतले पनि आफूलाई चाहिने राखेर निर्यात गर्ने हो । चीनसँगको उसको सम्बन्धको पनि कुरा होला,’ उनले भने, ‘यी सबै कूटनीतिकस्तरबाटै सुल्झनुपर्ने विषय हुन् ।’
विकास आयोजनालाई चाहिने विस्फोटक पदार्थ सेनाले पनि उपलब्ध गराउँदै आएको छ । ठेकेदार कम्पनीलाई नेपाली सेनाबाटै विस्फोटक किन्नुपर्ने बाध्यता नरहने सेनाका प्रवक्ता नारायण सिलवालले बताए । ‘हामी आफैं व्यावसायिक रूपमा उत्पादन गर्छौं । अरू ल्याउनुपर्यो भने पनि ढुवानी भण्डारण र सुरक्षा नेपाली सेनाले गर्छ,’ उनले भने, ‘तर ठेकेदारले आफ्नो तरिकाले विस्फोटक ल्याउन पाउँछन् ।’
विस्फोटक सामग्री नपाएर धेरैवटा जलविद्युत् आयोजना समस्यामा परेको सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडका निर्देशक सुवर्णदास श्रेष्ठले बताए । ‘आपूर्तिकर्ताले अहिले भारतबाट विस्फोटक सामग्री ल्याउन नसकेको बताइरहेका छन् । नेपालको मात्रैले नपुग्ने र भारतबाट ल्याउन नसक्ने भएपछि धेरै आयोजनामा समस्या देखिएको छ,’ उनले भने, ‘हाम्रा आयोजनामा सुरुङका लागि विस्फोट (ब्लास्ट) गर्नुपर्ने थियो तर विस्फोटक नै नपाएपछि रोकिएको छ ।’
नेपाली ठेकेदारले पनि पर्याप्त विस्फोटक नपाएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह बताउँछन् । ‘विस्फोटक सामग्रीको अभाव छ, उपलब्ध भए पनि गुणस्तरहीन भएकाले विभिन्न आयोजनामा काम रोकिएको गुनासो आएको छ,’ उनले भने, ‘सरकारी निकायले कम गुणस्तरको विस्फोटक उपलब्ध गराएका कारण कालीगण्डकी करिडोरमा कामै रोकिएको छ ।’ चिनियाँ आबद्ध आयोजनाले मात्रै विस्फोटक नपाएको भन्ने जानकारी भने आफूलाई नरहेको उनले बताए ।
तनहुँ जलविद्युत् आयोजनामा काम गरिरहेको ठेकेदार कम्पनीले विस्फोटक पदार्थ नपाएका कारण काम रोकेको एक उच्च अधिकारीले बताए । ‘भारतले विस्फोटक पदार्थ खुलाएको औपचारिक जानकारी त गराएको छ तर चिनियाँ जोडिएको आयोजनाले भारतबाट विस्फोटक पदार्थ नपाएको गुनासो गरेका छन्,’ ती अधिकारीले भने । तनहुँ जलविद्युत् आयोजनाका लागि करिब १० दिनका लागि मात्रै पुग्ने विस्फोटक पदार्थ बाँकी रहेको जानकारी गराएको उनले बताए । सरकारी लगानीको विद्युत् उत्पादक कम्पनी लिमिटेडले प्रवर्द्धन गरिरहेको किमाथांका अरुण जलविद्युत् आयोजनाले पछिल्लो १ वर्षदेखि विस्फोटक सामग्री पाउन सकेको छैन । कम्पनीका एक अधिकारीका अनुसार संखुवासभामा बन्ने यो आयोजना चीनको सीमानजिक भएकाले भारतले विस्फोटक सामग्री दिन आनाकानी गरिरहेको हो ।
पछिल्लो समय भारतले विस्फोटक सामग्रीको निर्यात खुम्च्याउनुमा युक्रेनमाथि रुसको आक्रमणको कारण अन्तर्राष्ट्रिय बजारमा अभाव सिर्जना हुनु र मूल्य बढ्नुलाई पनि कारण मानिएको छ । त्यस्तै, एमोनियम नाइट्रेडको अभाव पनि अर्को कारण हो । विस्फोटक सामग्रीमा ७० प्रतिशत एमोनियम नाइट्रेड प्रयोग हुन्छ । बेरुतस्थित एमोनियम नाइट्रेडको कारखानामा सन् २०२० अगस्टमा भएको विस्फोटका कारण अन्तर्राष्ट्रिय बजारमा यसको अभाव भएको छ ।
नेपालस्थित भारतीय दूतावासका अधिकारीले भने विस्फोटक पदार्थ आपूर्तिबारे आफूलाई जानकारी नभएको बताएका छन् । ‘म भर्खरै प्रवक्ताका रूपमा आएको छु । पूर्ण जानकारी छैन । बुझेर मात्रै भन्न सक्छु,’ प्रवक्ता शाहिल कुमारले भने ।कान्तिपुरबाट