काठमाडौं। नेपाल विद्युत प्राधिकरणले तीन वटा प्रसारणलाइन निर्माण अघि बढाउने भएको छ। विद्युत विकास विभागले सार्वजनिक सूचना जारी गर्दै प्राधिकरण प्रवर्द्धक रहेको तीन प्रसारणलाइन निर्माण तथा सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित रायरसुझाव दिन सरोकारवाला र स्थानीयवासीलाई आग्रह गरेको हो।
त्रिशूली–३ ‘बी’ हब सवस्टेशनदेखि कालिकास्थान सवस्टेशनसम्म ३३ केभी, अमरपुर–ढुंगेसाँघु १३२ केभी र गोदक(सोयाक १३२ केभी प्रसारणलाइन निर्माण गर्न लागेको हो।
त्रिशूली–३ ‘बी’ हब सवस्टेशनदेखि कालिकास्थान सवस्टेशनसम्म ३३ केभी प्रसारणलाइन ५ किलोमिटर लम्बाइको हुनेछ। नुवाकोटको किस्पाङ गाउँपालिकामा प्रस्तावित त्रिशूली–३ ‘बी’ हब सवस्टेशनदेखि रसुवाको कालिका गाउँपालिकामा प्रस्तावित कालिकास्थान सवस्टेशनसम्म निर्माण हुनेछ।
यो प्रसारणलाइनले ८ मेगावाट विद्युत शक्ति प्रसारण गर्न सक्छ। आयोजनाका लागि २।८९९६ हेक्टर जमिन आवश्यक पर्छ। यसमध्ये स्थायी रुपमा पोलहरु र सवस्टेशन निर्माणका लागि ०.३७५९ हेक्टर तथा विद्युतमार्गको अधिकार क्षेत्रका लागि २.४८६२ हेक्टर र सहायक सुविधाका लागि ०.०३७५ हेक्टर जग्गा प्रयोग गरिनेछ। आगामी मंसिर १५ गतेसम्म निर्माण सक्ने योजना छ।
अमरपुर–ढुंगेसाँघु १३२ केभी प्रसारणलाइनको दुरी १९.१२९ किलोमिटर हुनेछ। पाँचथरको हलिहाङ गाउँपालिकास्थित नेपाल विद्युत प्राधिकरणको अमपुर सवस्टेशनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुंगेसाघु सवस्टेशनसम्म निर्माण हुनेछ। २०० मेगावाट क्षमताको यो प्रसारणलाइन डबल सर्किटको हुनेछ।
यो प्रसारणलाइनमा ७३ वटा स्टील टावर रहने छ। आयोजना निर्माणका लागि ३४.४३ हेक्टर जमिन आवश्यक पर्छ। जसमध्ये स्थायी टावर फाउण्डेसनका लागि०.७३ हेक्टर तथा विद्युत मार्ग अधिकार क्षेत्रका लागि ३३.७० हेक्टर प्रयोग गरिनेछ। यो प्रसारणलाइन ३२ महिनामा निर्माण सक्ने योजना छ।
गोदक–सोयाक १३२ केभी प्रसारणलाइन ६.५६ किलोमिटर लम्बाइको हुनेछ। इलामको इलाम नगरपालिका–१० को सतुवाबेसीमा रहेको गोदक सवस्टेशनदेखि सोही नगरपालिकाको सोयाकमा रहेको काबेली करिडोरसम्म निर्माण गरिनेछ।