काठमाडौं। दाङको तुलसीपुर–सल्यान कालीमाटी–सुर्खेत सडक खण्ड ठेकेदारको लापरबाहीले निर्माण अलपत्र परेको छ। मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने यो सडक निर्माण सक्ने सम्झौंता सकिएको एक वर्ष वितिसक्दा पनि निर्माण पुरा हुन सकेको छैन।
२०७८ असार २० मा सम्पन्न हुनु पर्ने सडक सम्झौंता सकिएको १ वर्ष बितिसक्दासमेत आधाकाम पनि हुन सकेको छैन। कालोपत्रे गरिएका ठाउँमा कालोपत्रे उप्किएको छ। १७ किलोमिटरभन्दा बढी सडकमा कालोपत्रेको काम गर्न बाँकी रहेको छ।
सडकको समयमै स्तरोन्नति नहुँदा कालीमाटीवासीले सास्ति भोग्दै आइरहेको स्थानीय देवीलाल वलीले बताए। ठेकेदार कम्पनीले जति चुस्त द्रूस्त गतिमा काम गर्नु पर्ने हो त्यो गर्न नसकेको उनको भनाईछ। कम्पनीले सडक छेउमा बालुवा गिट्टी थुपार्दा झनै जोखिम बढेको वलीको भनाई छ।
पाँच वर्षमा सडक पिच गर्ने भनिएपनि ६ वर्षभन्दा बढी बितिसक्दासमेत आधाकाम पनि हुन नसकेको कमला रावतले बताइन्। निर्माण भएको सडक पनि गुणस्तरीय नभएको उनको भनाई छ।
२०७४ असार २० गते सुरु भएर २०७८ असार २० मा सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म ठेकेदार कम्पनीले काम नगर्दा सडक अलपत्र परेको छ। एक पटक म्याद थप भइसकेको छ भने फेरि म्याद थप्ने तयारी भइरहेको छ। तर, ठेकेदार कम्पनीको कामनगर्दा नागरिकलाई सास्ती भएको छ।
सडक डिभिजन कार्यालय दाङले सडक कालोपत्रे गर्न ४४ करोड बजेट विनियोजन गरेको थियो। कार्यालयले गरेको टेन्डर अनुसार कालिका जेभी कन्स्ट्रक्सने कामको जिम्मेवारी पाएको हो।
लगातार दुई वर्ष कोरोनाका कारण र कच्चा पदार्थको अभावमा काम गर्न नसकेको ठेकेदार कम्पनीले बताएको छ। अझै कालो पत्रेको कामगर्न बाँकी रहेकाले सडक साँघुरो हुँदै जाँदा दुर्घटनाको जोखिम समेत बढेको छ।
कालोपत्रे गरेको ठाउँमा पनि गुणस्तरीय कामनगर्दा कालोपत्रे उप्किएको कालीमाटी गाउँपालिका १ का वडाध्यक्ष रविलाल बस्नेतले बताए । अगाडी कम्पनीले काम गरी रहेको जस्तो गरी रहेको छ तर पछाडीबाट कालोपत्रे उप्किँदै गइरहेको छ उनले भने।
ठेकेदार कम्पनीले चार वर्षको अवधिमा २७ किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेमा झन्डै १० किलोमिटर मात्र गरेको कालीमाटी गाउँपालिका प्रमुख दानबहादुर खत्रीले बताए। ठेकेदार कम्पनीलाई बारम्बार ताकेतागर्दै आए पनि कामलाई गति दिन आनाकानी गरिरहेको बताए। नेपाल घटनाबाट