काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नयाँ ६ वटा वायुसेवाको उडान अनुमति प्रक्रिया अघि बढाएको छ। क्यानले कोभिडका कारण तीन वर्षदेखि रोकिएका नयाँ वायुसेवा कम्पनीको उडान स्वीकृति प्रक्रिया धमाधम अगाडि बढाएको हो।
प्राधिकरणले यतिखेर फिक्स्ड विङ (हवाई जहाज) र हेलिकोप्टर दुवै किसिमका उडान सेवा प्रदान गर्ने गरी आउन खोजेका आधा दर्जन वायुसेवा कम्पनीहरुको उडान स्वीकृति प्रक्रिया थालेको जनाएको छ।
अहिलेसम्म बीबी एयरवेज, गोरखा, हेलि नेपाल, रोयल त्रिलोक, अन्नपूर्ण, शिवम् लगायतका वायुसेवा कम्पनीले उडान अनुमतिका लागि निवेदन दर्ता गरिसकेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।
‘पर्यटन मन्त्रालयबाट लाइसेन्स पाएका वायुसेवा कम्पनीले प्रस्ताव पेस गरेसँगै हवाई यातायात विभागमा अध्ययनका लागि पठाएका छौं। बीबी एयरवेज, गोरखा एयरलाइन्स र हेलि नेपाल गरी तीन वायुसेवा कम्पनीको डकुमेन्ट अध्ययनका लागि पुगिसकेको छ,’ निरौलाले भने।
दुई वर्ष अघिदेखि उडान अनुमति प्रक्रिया सुरु गरेको रोयल त्रिलोक र अन्नपूर्ण हेलिकोप्टरको उडान स्वीकृति प्रक्रिया भने अन्तिम चरणमा रहेको उनले जानकारी दिए।
अब उडान अनुमति पाउने वायुसेवा कम्पनीलाई काठमाडौं बाहिर बेस राख्ने प्रावधान लागू गर्ने पनि तयारी गरिसकेको बताउँदै उनले भने, ‘एओसी दिने समितिले बेस बाहिरै राख्ने प्रणाली बनाइसकेको छ। कम्पनीहरु धमाधम थपिएसँगै हामीले हवाई सुरक्षा विभागमा जनशक्ति थपिसकेका छौं। केही समयअघि मात्र वरिष्ठ क्याप्टेन थपिसेकका छौं। उहाँहरुले गर्नुभएको सम्भाव्यता अध्ययन अनुसार उडान अनुमति दिने हो,’ उनले भने।
उडान अनुमतिको अन्तिम चरणमा रहेको रोयल त्रिलोकले दुई महिनाभित्रै एयरबसको एउटा हेलिकोप्टर ल्याउने जनाएको छ। कम्पनीका सीइओ रवि शर्माले भने, ‘दुई साताभित्रै हेलिकोप्टरको टुंगो लाग्नेछ। आउँदो अक्टोबरभित्र उडान संचालनमा ल्याउने योजना बनाएका छौं। बैंकको तरलता समस्याले कर्जाका कारण बीचमा केही ढिला हुन गएको हो।’
प्राधिकरणबाट एओसी पाएको तीन महिनामा कम्पनीले थप दुईवटा एयरबसकै बि–थ्री इ सिरिजको हेलिकोप्टर ल्याउने योजना रहेको उनले जानकारी दिए।
यतिखेर अन्नपूर्णले पनि हेलिकोप्टर ल्याउने तयारी गरिरहेको प्राधिकरणले जनाएको छ। यस्तै, दुई दशकअघि नै बन्द भएको गोरखा एयरलाइन्सले पनि पुन उडान थाल्नका लागि प्रक्रिया अगाडि बढाएको छ। २६ वर्षअघि कम्पनीले डोर्नियर २२८ सिरिजको जहाजमार्फत उडान सेवा दिएको थियो।