काठमाडौं। भूकम्प गएको ७ वर्षपछि ६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न भएका छन्। पुरातत्व विभागका अनुसार २०७२ साल वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पका कारण मुलुकभर ९ सय २० वटा सम्पदा क्षतिग्रस्त भएका थियो। तीमध्ये अब २ सय ५७ सम्पदा पुननिर्माण गर्न बाँकी रहेको विभागको भनाइ छ। विभागले हालसम्म ७२ प्रतिशत सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको छ।
विभागले क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण सम्पन्न गर्न अझै ३ वर्ष लाग्ने जानकारी दिएको छ। तथ्याङ्कअनुसार भूकम्पले २८ जिल्लाका ९ सय २० सम्पदा क्षतिग्रस्त भएको थियो।
विभागले क्षति भएका ९ सय २० सांस्कृतिक सम्पदाको मौलिक स्वरूपलाई यथावत् कायम राखी पुनर्निर्माण गरिएको बताइएको छ। आगामी आवमा सम्पदा पुनर्निर्माण गर्न करिब १ अर्ब ६० करोड रुपियाँ विनियोजन गरिएको जानकारी दिए। आगामी आवमा करिब ७ सय २५ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य विभागले लिएको छ।
विभागको तथ्याङ्कअनुसार पाटनको भीमसेन मन्दिर अगाडिको सिंहको मूर्ति, योगनरेन्द्र मल्लको शालिक, सुन्दरीचोकको पूर्वी लङ, तलेजु र मूलचोकको छाना, मणिमण्डप, सोह्रखुट्टे पाटी निर्माण सम्पन्न गरिसकेको छ।
त्यस्तै, हनुमानढोकाको लक्ष्मीनारायण, महादेव, सरस्वती, नगरा, सिंहसत्तल, मोहनकाली चोकको माथिल्लो मोहडा, पञ्चमुखी हनुमान, श्वेतभैरव, मशानचोकको नृत्यश्वर मन्दिर प्रताप मल्लको शालिक, देगु तलेजु, नौतले र गद्धी बैठक बीचको राणाकालीन भवन, गद्धी बैठकको पुनर्निर्माण सम्पन्न भइसकेको छ। विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूका एक दर्जन सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । स्वयम्भूको टासी गोर्माग चैत्य, अनन्तपुर, प्रतापपुर, शान्तिपुरको पाटी, मञ्जुश्री सत्तललगायत छन्।