काठमाडौं। तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका–१ को निर्माणाधीन भ्यू टावर क्षेत्रको निर्माणकार्य स्थानीयबासीले रोकेका छन्। योजना संचालनका लागि आमभेला नबोलाई सुटुक्कै उपभोक्ता समिति गठन गरी काम सुरु गरेको भन्दै स्थानीयबासीले निर्माण कार्य रोकेका हुन्।
म्याङलुङ नगरपालिका प्रमुख संजयकुमार तुम्बाहाङफेले आफ्नो पार्टीको कार्यकर्तालाई आफ्नै घरमा बोलाई कोठे समिति गठन गरेर योजना सम्झौता गरेको म्याङलुङ–२ का पदम लिम्बुले बताए। उनले भने, “हामीले पटकपटक आमभेलाको माग गर्दा समेत मेयरबाट सुनुवाइ भएन।”
आव २०७८÷०७९ मा भ्यू टावर निर्माणका लागि संघीय सरकारमार्फत ‘सूर्योदय अवलोकन क्षेत्र पर्यटन पूर्वाधार’ शीर्षकमा २६ लाख बजेट छुटिएपछि हर्षित भएका स्थानीय अहिले निरास छन्। भ्यू टावर निर्माणका लागि उपभोक्ता समिति गठन गर्न स्थानीयबासीले नगरपालिकालाई आग्रह गर्दा समेत समिति गठनको प्रकृया अगाडि नबढेको स्थानीय विश्व प्रकाश लिम्बुले बताए। “समिति गठन हुन सक्दैन भने ठेक्का प्रकृयामा जानसमेत आग्रह गरियो,” उनले भने, “तर मेयर साबले मान्नु भएन।”
आर्थिक वर्ष सकिन करिब २० दिनमात्रै बाँकी रहँदा नगर प्रमुख तुम्बाहाङफेको निर्देशनमा कोठे समिति बनेको र भ्यू टावर बनाउने बजेटलाई वाल ९पर्खाल० लगाउने कार्यको सम्झौता गरी काम सुरु गरेको देखेपछि स्थानीयबासीले काम रोकेको म्याङलुङ–१ का डिकेन्द्र तुम्बाहाङफेले बताए। “२६ लाखको काम १५ दिनमा पर्खाल लगाएर कसरी सकिन्छ,” उनले भने, “उपभोक्ताको आमभेला नबोलाई समिति गठन गर्नु आफैंमा गलत हो अझ टावर बनाउनुपर्ने रकमले पर्खाल लगाउनु झनै कानुन र मापदण्डविपरीत हो ।” योजना सम्झौता गरेको समितिको नाममा कुल बजेटको ३० प्रतिशत पेश्की रकमसमेत निकासा गरेको म्याङलुङ नगरपलिकाका लेखा सहायक प्रेमबहादुर तामाङले जानकारी दिए।
नियमविपरीत र शीर्षकभन्दा फरक काम गरिएको भन्दै स्थानीयबासीले वडा कार्यालयमा उजुरी दिएका छन्। स्थानीय सरकार सञचालन ऐनमा वडामा सञ्चालन हुने कुनै पनि योजना अगाडि बढाउनका निम्ति वडाध्यक्षको रहोवरमा आमभेला बोलाई निर्माण समिति गठन गर्नुपर्ने नीति उल्लेख भएको तर समिति गठन गर्नेबारे आफूलाई केही जानकारी नआएको म्याङलुङ–१ का अध्यक्ष बुद्धिराज लिम्बुले बताए। “आमभेला नगरी समिति गडन गर्न नमिल्ने प्रावधान छ,” उनले भने। काम तत्काल रोक्न स्थानीयबासीको उजुरी आएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको वडाध्यक्ष लिम्बुले जानकारी दिए।
काम रोकिएको प्रति चिन्ता व्यक्त गर्दै नगर प्रमुख तुम्बाहाङफेले विकास निर्माणमा अवरोध गर्नु दुर्भाग्य भएको बताए। “हाम्रै बन्धुबाट काम रोकियो,” उनले भने, “अब कुनै हालतमा पनि भ्यू टावर बन्ने छैन।” निर्माण कार्य रोकिएपछि भ्यू टावरका लागि छुट्टिएको बजेट फ्रिज हुने अवस्थामा छ। कारोबारबाट