काठमाडौं। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनअनुसार अधिकांश राष्ट्रिय गौरवका आयोजनाको बेहाल देखिएको छ। प्रतिवेदनअनुसार दशकौंअघि निर्माण सुरू भएका दर्जनौं राष्ट्रिय गौरवका आयोजनाको प्रगति बेहाल देखिएको हो ।
सरकारले आर्थिक वर्ष २०६८र६९ मा १७ वटा आयोजनालाई राष्ट्रिय गौरवको सूचीमा राखेर उच्च प्राथमिकतासहित निर्माण कार्य अघि बढाउने घोषणा गरेको थियो। उक्त समयमा समृद्ध नेपालको सडक पूर्वाधार विकासको आधारशिला निर्माण गर्ने, सिँचाई सुविधामार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने तथा जलविद्युत, विमानस्थल निर्माण आयोजनालाई प्राथमिकतामा राखिएको थियो ।
यसैगरी, राष्ट्रिय गौरवको आयोजनाहरूको सूचीमा खानेपानी व्यवस्था, सांस्कृतिक सम्पदाको संरक्षण लगायतका आयोजना पनि समेटिएका थिए । एक दशकअघि १७ वटा आयोजना राष्ट्रिय गौरवको सूचीमा परेकोमा हाल हाल थपिएर यस्ता आयोजनाको संख्या २४ पुगेको छ ।
यी २४ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये हालसम्म एउटा आयोजना मात्रै सम्पन्न भएको छ । दोलखामा अवस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना सम्पन्न भएको हो । यो आयोजना गत वर्ष २०७८ को असारदेखि सञ्चालनमा आएको थियो ।
यसबाहेक, मेलम्ची खानेपानी आयोजनाको निर्माण ९९.४७ प्रतिशत सम्पन्न भएको छ। यो आयोजना हिउँदयाममा सञ्चालनमा आएपनि बर्खायाममा बन्द हुने गरेको छ । यसपछि, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ९६ प्रतिशत सम्पन्न भएको छ भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ९२ प्रतिशत सम्पन्न भएको प्रतिवेदनले देखाएको छ ।
यस्तै, ३ वटा आयोजनाको प्रगति शून्य छ । यीमध्ये रेल्वे तथा मेट्रो विकास आयोजनाको प्रगती शून्य प्रतिशत रहेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । यसैगरी, पश्चिम सेती जलविद्युत आयोजना र राष्ट्रिय प्रसारण लाइनको आयोजनाको समेत प्रगती शून्य प्रतिशत छ । यसबाहेक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकास प्रगती भने नखुलेको प्रतिवेदनमा उल्लेख छ । रातोपाटीबाट