काठमाडौं। सडक विस्तारसँगै जाजरकोट, दैलेख र रुकुमपश्चिमका दुर्गम बस्तीमा बजारीकरण काम सुरु भएको छ। मध्यपहाडी लोकमार्ग ९पुष्पलाल० निर्माणसँगै ती जिल्लाका दुर्गम ग्रामीण बस्तीमा स्थानीय बजार विस्तार भएसँगै शहरीकरण पनि भएको हो।
यातायातको पहुँच पुगेसँगै पछिल्लो समय थलहबजार, दशेरा, सुयडा, बेस्तडा बजार, लोहोरे, दैलेख बजार, रावतकोट, जम्मुकाँध र राकमबजार आर्थिक केन्द्रका रूपमा विकास भइरहेका छन्। त्यस्तै रुकुमपश्चिमको चौरजहारीमा नयाँ सहर निर्माणको काम जारी छ।
पूर्वी नेपालको पाँचथर जिल्लाको चियोभन्ज्याङबाट मध्यपहाड हुँदै पश्चिम नेपालको बैतडी जिल्लाको झुलाघाटसम्म २६ पहाडी जिल्ला हुँदै निर्माणाधीन मध्यपहाडी लोकमार्गले आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय विकासमा समेत योगदान दिन थालेको छ। एक हजार ८७९ किलोमिटर लामो मध्यपहाडी लोकमार्गले २१५ बस्तीलाई जोडेको छ। मध्यपहाडी क्षेत्रमा बसोबास गर्ने करिब एक करोड जनतालाई लाभ पुर्याउने लक्ष्यका साथ आयोजना निर्माण भइरहेको छ।
पहिले–पहिले नुनतेलको जोहो गर्न हप्तौँ लगाएर नेपालगञ्ज, बर्दिया झर्नुपर्ने बाध्यता थियो। पहाडका अप्ठ्यारा बाटा, घोप्टे भिर काट्दै बबई नदी, भेरी नदी तरेर, कट्टीको गल्छी पार गर्नुपथ्र्यो। तर त्यस्ता भिर काटेर कालोपत्र सडक आउँदा स्थानीयवासी औधी खुशी छन्।
मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत सर्वाधिक लामो १२५ किलोमिटर सडकखण्ड दैलेख जिल्लाभित्र पर्दछ। दैलेखमा भगवतीमाई गाउँपालिका–४ सुयडा क्षेत्रबाट प्रवेश गरी सो जिल्लाका आठवटा पालिकालाई समेट्दै आठबीस नगरपालिका–३ बेलखेतबाट बाहिरिन्छ । स्थानीय उत्पादनले बजार पाएको छ । घरघडेरीको मूल्यसंँगै वित्तीय संस्थाहरूले लगानी पत्याउन थालेका छन् ।
रोजगारी र अवसरको खोजीमा होस् या अभावका कारण परिवारसहित हुने बसाइँसराइ निरुत्साहित गर्न पनि यो आयोजनाले ठूलो सहयोग गरेको छ। स्थानीय नागरिक रोजगारीमा जोडिएका छन्। स्थानीय पुरुषमात्र नभएर प्रत्येक घरका महिला रोजगारीमा जोडिएका छन्। रुकुमपश्चिम, जाजरकोट, दैलेख र अछामकोे बीचबाट पूर्व–पश्चिम भएर सडक निर्माण भएपछि नेपाल सरकारले तय गरेका एक सयवटा पर्यटकीय गन्तव्यको सूचीमा परेका पर्यटकीय क्षेत्रमध्ये छवटा गन्तव्यसमेत यस लोकमार्गमा जोडिएका छन्। आन्तरिक वा बाह्य पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको छ।
लोहोरेखोलाबाट जाजरकोट जिल्लाको थलाहबजारसम्म ५२ किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति कार्य भइरहेको छ। छवटा निर्माण कम्पनीको ठेक्का रकम कूल रु दुई अर्ब ६५ करोड रहेको आयोजना कार्यालयका प्रमुख युवराज पोखरेलले बताए। पुष्पलाल लोकमार्ग योजना कार्यालय दैलेखअन्तर्गत पूर्वीरुकुम, पश्चिमरुकुम, जाजरकोट, दैलेख र अछाम गरी पाँच जिल्ला यस योजना कार्यालयको कार्यक्षेत्र अन्तर्गत पर्दछ। रुकुमपूर्वबाट अछामसम्म योजनाको जिम्मेवारीमा रहेको करिब ४४० किलोमिटर सडक आर्थिक वर्ष २०७९र८० मा सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई गति दिइएको बताइएको छ।