दैलेख। जिल्लाको ठाटीकाँध गाउँपालिकाको भवन निर्माण गर्न एकै परिवारले दुई करोड बराबरको जग्गा दान गरेका छन्। पालिका भवन निर्माणका लागि एकै परिवारका सदस्यले सरकारको दररेट प्रतिरोपनी १५ लाख पर्ने १० रोपनी जग्गा दान गरेका हुन्।
गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहले गाउँपालिकाको भवन निर्माणका लागि १० रोपनी जग्गा दानस्वरुप प्राप्त भएको जानकारी दिएका छन्। ठाटीकाँध गाउँपालिका–६का धनरुप थापा, मानबहादुर थाप, प्रेम थपा, मनबाहादुर थापा, लालबहादुर थापा र भक्त थापाले १० रोपनी जग्गा गाउँपालिकाको भवन निर्माणका लागि दानस्वरुप प्रदान गरेको उनले बताए ।
गाउँपालिकाको भवन निर्माणका लागि चाँडै प्रक्रिया अघि बढाउने बताउँदै उनले भने, ‘भर्खर जग्गा प्राप्त भएको छ । अब भवन निर्माणका लागि प्रक्रिया अघि बढाउँछौँ ।’
पालिकाभित्र रहेका ६ वडा मध्ये ३ वटा वडा पुराना गाविस भवनमा सञ्चालन भइरहेको छ। अध्यक्ष शाहले भने, ‘यसअघि सडक खन्ने काम मात्रै भयो । त्यो पनि कहीँ पिच भएको छैन । मुख्य राजमार्गबाट पालिकासँग जोडिने १४ किलोमिटर बाटोमध्ये दसैँसम्म ९ किलोमिटर पिच हुन्छ ।’
यस्तै, नीति तथा कार्यक्रममा लघु उद्यमलाई प्राथमिकता दिएको उनले बताए । ‘बाँसका सामग्री निर्माण, स्पेसल ढाकालाई उत्पादनमा जोड,सिलाइ कटाइ सीप तथा उनीको स्वीटर बुनाइजस्ता सीपको क्षमता बढाएर उद्यमशीलता बढाउन जोड दिएका छौँ,’ उनले भने ।