ताप्लेजुङ। मध्य तमोर जलविद्युत् आयोजनाको सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ भएको छ । ७३ मेगावाट क्षमताको मध्य तमोरको सुरुङ शुक्रबार राति १०स्३० बजेतिर जोडिएको हो ।
आयोजना प्रमुख मणि पोख्रेलका अनुसार यो आयोजनाले ड्याम बन्ने मित्लुङ र पावर हाउस राखिने थुम्वा गरी दुईतिरवाट सुरुङ खन्दै आएको थियो ।
दुईवटा कम्पनीले आ–आफ्नो क्षेत्रबाट खनेको सुरुङ शुक्रबार राति जोडिएको पोख्रेलले जानकारी दिए । यहाँ ६ मिटर चौडाइ, ४ मिटर उचाइ र ३ हजार ३ सय ७० मिटर लम्बाइको सुरुङ निर्माण भइरहेको छ । सुरुङ जोडिएसँगै आयोजनाको ७१ प्रतिशत काम सकिएको सूचना अधिकारी करन गौतमले बताए । गौतमका अनुसार हेडवर्क्सको काम ८० प्रतिशत सकिएको छ । सुरुङको काम पनि ६६ प्रतिशत पूरा भएका आयोजनाले जनाएको छ ।
ताप्लेजुङमा निर्माणाधीन सबैभन्दा ठूलो यो आयोजनाको लागत १२ अर्ब रुपैयाँ रहेको छ । ७५ प्रतिशत बैंक र २५ प्रतिशत स्वपुँजी रहने आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । निर्माण कार्यमा भने अधिकांश नेपाली कामदार रहेका छन् । जलविद्यु्त् योजनाका लागि ३ हजार ३ सय ६७ मिटर लामो सुरुङ बनाइनेछ ।
मित्लुङको माथिल्लो क्षेत्रमा ५० मिटर लम्बाइ र ११ मिटर उचाइको बाँध बनाएर साइड इन्टेकमार्फत पानी फाल्ने क्षेत्रमा पठाउने, त्यहाँबाट एक सय मिटर लम्बाइ र १३ मिटर चौडाइका ३ वटा भूमिगत च्याम्बर बनाई बालुवा थिग्र्याउने ठाउँमा पुर्याइनेछ । बालुवा तथा लेदो भने तमोर नदीमै फालिन्छ । मिक्लाखोला गाउँपालिकाको खोक्लिङ रहने उत्पादनगृहमा प्रस्तावित विद्युतगृहमा जडित १८.२५ मेगावाट क्षमताका ४ वटा टर्बाइनमा खसाली जेनेरेटिङ युनिटमार्फत उत्पादन गरिनेछ । यहाँबाट निस्किएको पानीलाइ ७५ मिटर लामो निकास नहरमार्फत तमोर नदीमै खसालिनेछ ।
सानिमा मिडिल तमोर हाइड्रो पावर लिमिटेडले उत्पादन गर्ने आयोजना ५४ बाट १९ मेगावाट बढाएर ७३ मेगावाट बनाइएको हो । २०७३ असारमा फक्तालुङ गाउँपालिका २ सावादिनको नाक्लाभीर झरेर बनेको तालले उचाइ बढाएसँगै उत्पादन क्षमता पनि बढेको हो । ताल फुटेपछि आयोजनाले गरेको अध्ययनले नदीको सतह पहिले भन्दा १२ मिटर माथि उठेको पुष्टि भएको थियो ।