काठमाडौं। सुदुरपश्चिम र कर्णाली प्रदेश जोड्ने कर्णाली नदीमाथी पुल निर्माण भएका छन्। कर्णाली नदीमाथी दुई प्रदेश जोड्ने थप दुई पक्की पुल निर्माण सम्पन्न भएका हुन्।
सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत जिल्ला जोड्ने पुल बनेका हुन्। पुल निर्माण हुँदा आवतजावतमा सजिलो हुनुका साथै व्यापार व्यवसाय प्रवर्द्धनमा पनि सहज हुने बताइएको छ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–११ कुइने र कैलालीको मोहन्याल जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण भएपछि तराई, पहाड र हिमाली जिल्लाका नागरिकलाई सहज हुनेछ। सुदूर र कर्णाली प्रदेशका पहाडी जिल्लाका बासिन्दाले पैदलयात्रा गर्दै आएको सुर्खेतको कुइने–चिसापानी बाटोमा कर्णालीवारि र पारि सडक सञ्चालनमा छन्।
सो बाटो भएर कैलाली र सुर्खेतका नागरिकमात्र आवतजावत गर्ने नभई सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक पनि हिँड्ने गर्छन्। सुर्खेतको पञ्चपुरी नगरपालिकाले घाटगाउँ, गल्टा, तातापानी जोड्नेमात्र पुल नभई दैलेख, अछाम, कालिकोट, हुम्ला, जुम्लाका मानिसलाई पनि यो पुलले सहज हुने जनाएको छ।
कर्णाली नदीमा झोलुङ्गे पुल पनि नहुँदा दुई–तीन दिन कुरेर डुङ्गाबाट नदी तर्ने गरिन्थ्यो। पुल बनेपछि सबै समस्या समाधान भएका चौकुने गाउँपालिकाले बताएको छ। इतिहास बोकेका बाटा भएकाले त्यहाँ पुल बनेपछि आवतजावतमा सजिलो हुनुका साथै चिसापानी कुइने क्षेत्रलाई पर्यटन क्षेत्रका रूपमा पनि विकास गर्न सकिने बताइएको छ।
अनक कन्ट्रक्शन रोशन जेभीले विसं २०७४ बाट निर्माण सुरु गरेको चिप्लेघाट पुलको निर्माणकार्य सम्पन्न भइसकेको छ। कैलालीको मोहन्याल गाउँपालिका–७ र सुर्खेतको चौकुने गाउँपालिका–१० जोड्ने चिप्लेघाट पुल ६२ करोडको लागतमा निर्माण भएको हो। पाँच सय ५० मिटर लामो पुलको आठवटा स्पान रहेका छन्।
अर्को पुल कैलालीको मोहन्याल गाउँपालिका–७ र सुर्खेतको पञ्चपुरी नगरपालिका–११ जोड्ने कुइनेघाटमा निर्माण भएको छ। अनक लुम्बिनी जेभीले निर्माण गरेको यो पुलको पनि निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। तीनसय मिटर लामो मल्टी स्पान आर्क ब्रिज ३२ करोडको लागतमा निर्माण भएको हो। पुलको निर्माणकार्य अन्तिम चरणमा पुगिसकेको र आउँदो दशैँभित्र पुलमाथि सवारीसाधन हिँडाउने तयारी भइरहेको पुल निर्माण कम्पनीकाले जनाएको छ।