बुटवल। बुटवल चौराह–गोलपार्क सडक विस्तारको म्याद असार, २०७९ सम्म थपिएपछि तोकिएको समयसीमासम्म सडक निर्माणको काम सक्ने निर्माण कम्पनी द कञ्जनजंघा–विरुवा जेभीले प्रतिवद्धता जनायो। उसले प्रतिवद्धता अनुसार गएको मंसिरदेखि सडक निर्माणको काम अघि बढायो। अनेक उल्झन र अवरोधले समयमै काम हुन नसकेको सडक विस्तारको कामले गति लिएपछि थपिएको समयसीमा सडक विस्तार हुन्छ भन्ने बुटवलवासीमा आशा पलायो।
जब निर्माण कम्पनीको सक्रियता बढ्यो, नजिकै आइरहेको स्थानीय तहको चुनावमा मुद्दा बनाउन निर्माण कम्पनीलाई सत्तारूढ दलकै नेताहरुले काममा ढिलाई गर्न आग्रह गरे। निर्माण कम्पनीका एक इञ्जिनियरका भनाईमा, चुनाव अघि काममा ढिलाई गर्दा थपिएको म्यादसम्म काम नसकिएपनि पुनः म्याद थप्न सघाउने प्रतिबद्धता जनाए। सत्तारूढ नेताहरुको चुनावी स्वार्थलाई साथ दिदै निर्माण कम्पनीले स्थानीय तहको चुनाव अघि काममा ढिलासुस्ती गर्दै सम्पर्क विच्छेद भयो। चुनावपछि काम तीब्र गतिमा अघि बढाएको छनक त दियो तर काम सक्ने संभावना थिएन्। अहिले पहिलेको प्रतिबद्धता अनुसार निर्माण कम्पनीलाई म्याद थप्न चर्को लविङ भएको छ।
अहिले यो लविङमा बुटवल उपमहानगरप्रमुख खेलराज पाण्डे अग्रस्थानमा छन्। भित्रभित्रै म्याद थपको लविङमा लागेका मेयर पाण्डे बाहिर सडक निर्माणमा कम्पनीले ढिलासुस्ती गरेको भन्दै सूचना प्रवाह गराएका छन्। निर्माण कम्पनी द कञ्जनजंगा विरूवा जेभी दुवै सत्तारुढ कांग्रेस निकट निर्माण व्यवसायी हुन्। पार्टी आवद्धताको प्रयोग गर्दै निर्माण व्यवसायीहरु गृहमन्त्री बालकृष्ण खाँणदेखि प्रधानमन्त्री पत्नी आरजु राणासम्मको ढोका ढकढक्याउन भ्याइसकेका छन्। विरुवाका सुमित श्रेष्ठ कांग्रेसका प्रभावशाली नेतासंग पहुँच बनाएका व्यवसायी हुन्। उनी स्वंय कांग्रेसको बाग्मती प्रदेशको राजनीतिमा क्रियाशील रहेका छन्।
बुटवल उपमहानगर र संघीय सरकारमा कांग्रेसको सत्ता भएका प्रभावशाली नेताहरुसँग पहुँच बनाउन सफल निर्माण कम्पनीको म्याद थप निश्चित भइसकेको सडक विभागका अधिकारीहरु बताउँछन् । त्यसैका लागि सार्वजनिक खरिद ऐनको नियमावलीको १२ औं संशोधन भइ बाटो खोलिएको छ ।
बुटवल चौराह–गोलपार्क सडक निर्माण समयमै नगरेर अस्तव्यस्त बनाएको विरुवाले यस अघि बुटवल–बेलहिया सडक निर्माणको काम अलपत्र छाडेको बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाका प्रमुख दिपककुमार झाले बताए।
विरुवाले बेलहिया नाकामा ७ सय ५० मीटर सडकमा अस्पाल पीच गर्ने काम बाँकी राखेको छ। पडसरीमा पनि केही वर्षदेखि बाँकी रहेको काम अलपत्र छ। २०७८ असार १८ गते प्रमुख जिल्ला अधिकारीको संयोजनमा सरोकारवाला सरकारी निकाय र निर्माण कम्पनीबीच भएको बैठकमा १० दिनभित्र बेलहिया र पडसरीको बाँकी काम सक्ने निर्माण कम्पनीका प्रतिनिधिले लिखित प्रतिवद्धता जनाएका थिए। तर त्यो प्रतिबद्धता कार्यान्वयन भएन् । चौराह–गोलपार्क सडकको काम पनि २०७९ असार मसान्तसम्म सक्ने गरी दु्रत गतिमा गर्ने सहमति भएको थियो। त्यो सहमतिलाई वेवास्ता गरेर निर्माण कम्पनी राजनैतिक लविङमा लागेको छ।
सडक आयोजनाका इञ्जिनियरहरु यो निर्माण कम्पनीको नियत नै ठीक नभएको बताउँछन्। नियत ठीक नभएको निर्माण कम्पनीलाई कानुन अनुसार कारवाही गरी अरुलाई पनि सर्तक बनाउनुपर्नेमा उसैलाई संरक्षण गर्ने काम सत्ता नेतृत्वबाट भएको छ।
यस अघि बुटवल उपमहानगरपालिकामा एमालेका शिवराज सुवेदी थिए, मेयर । उनकै कारणले सडक अस्तव्यस्त भएको प्रचार अहिलेका मेयर पाण्डे सहितका कांग्रेस नेताले गरे। चुनावी प्रचारमा यही प्रपोेगण्डा तीब्र भयो। कांग्रेसका मेयरका प्रत्यासी पाण्डेले चुनाव जिते। अहिले मेयर भएपछि तिनै पाण्डे नियत ठीक नभएको निर्माण कम्पनीलाई बोकेर हिडेका छन्। हिजो एमालेका मेयर सुवेदीको कमजोरी भन्दै उनलाई पासोमा पारेका पाण्डे अहिले त्यही पासोमा आफै पर्न थालेका छन्।
त्यसो त सडक विस्तारका क्रममा सडक क्षेत्राधिकार मिचेर बनाइएका घरहरु भत्काउन तिनै पाण्डेले अवरोधको नेतृत्व गरेका थिए। सडक क्षेत्राधिकार मिचेर बनाइएका घरधनीलाई बोकेर काठमाडौंसम्म पुगेका मेयर पाण्डे बुटवल उपमहानगरपालिकाको आयोजना झैं गरी यो सडक निर्माणको काम असार मशान्तसम्म सकिने सार्वजनिक कार्यक्रममा बोल्दै हिडे। अहिले सडक निर्माणको काम त सकिएन् नै। अस्पताल लाइनको एकतर्फी एक सय मिटर पीच गर्न एक महिनादेखि सडक बन्द गरिएको छ। त्यसले यहाँको यातायात आवागमन अस्तव्यस्त भएको छ। दुर्गा मन्दिरदेखि अस्पताल लाइनसम्म पहिलेका साना खाल्डाखुल्डी पुर्न भन्दै मिस्कट राखेपछि समयमै अरु काम नहुँदा झन ठूला खाल्डाखुल्डी परेका छन्। अस्पताल लाइनको सडक पहाडी क्षेत्रको कच्ची सडकझैं भएको छ।
आयोजनाका प्रमुख झा निर्माण कम्पनीको नियत ठीक नभएकाले अहिले अस्तव्यस्त भएको बताए। ‘अब उसको म्याद थप्दा मात्रै काम हुने हो, म्याद थप भएन भने यो सडक फरक ढंगले अघि बढ्छ,–उनले भने,– अहिले काम गर्छु भनेर प्रतिवद्धता जनाइरहेको छ, म्याद थप्ने काम सडक विभागको काम ह।’
हिजो असार ३२ गते म्याद सकिएपछि निर्माण कम्पनीले अब म्याद थप गर्न आग्रह गर्दै निवेदन दिने र त्यसको एक। डेढ महिनामै म्याद थपको टुंगो लाग्ने झाले बताए। चौराह–गोलपार्क सडक साढे तीन किमि दुरी हो।
निर्माण कम्पनीले अहिले गरिरहेको अर्को गल्ती हो, पहिले नाली निर्माण गरेर सडक बनाउनुपर्नेमा नाली निर्माणको काम नसक्दै सडक पक्की गर्न लागेको छ। नाली नबन्दा वर्षा हुने बित्तिकै सडकमा भेल बग्न थालेको छ। असार १४ गते यहाँ ठूलो वर्षा भयो। नाली नहुँदा यहाँको सडकमा भेल बग्यो। सडक आयोजनाका एक इञ्जिनियरका अनुसार, नालीमा बग्नुपर्ने माटो सहितको लेदो सडकमा भेल बग्दा पीच कामै लाग्दैन्। यसले सडकको पीचको आयु छोट्याउँछ।
गोलपार्कदेखि राजमार्ग चौराहसम्मको नाली बुटवल–बेलहिया सडक विस्तार आयोजनाले बनाउने गरी यही निर्माण कम्पनीले जिम्मा लिएको हो। राजमार्ग चौराहदेखि सुखौरा खोलासम्म बुटवल–नारायणगढ सडक विस्तार आयोजनाले बनाउने जिम्मा हो। राजमार्ग चौराह–सुखौरा खोला नाली निर्माण छिटो गर्न प्रक्रिया अघि बढिसकेको थियो। तर गोलपार्क–राजमार्ग चौराहसम्मको नाली निर्माणको काम अलपत्र छाड्दा बुटवलको सडकमा बर्षा हुँदा भेल बग्ने छ। सडकमा बग्ने भेलको उपयुक्त निकास नहुँदा डुवानको जोखिम नभएको बुटवलमा डुवानको जोखिम बढेको छ।
यो सडक विस्तारका लागि निर्माण कम्पनीले २०७३ चैत १७ गते ठेक्का सम्झौता गरेको थियो। सम्झौता अनुसार, २०७६ असोज १२ गतेसम्म काम सक्नुपर्ने समयसीमा भएपनि सडक क्षेत्राधिकार मिचेर घर बनाएकाहरुको अवरोधले काम अघि बढ्न सकेन्। घरधनीहरुले सडक विस्तार रोक्न माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए। रोकिएको सडक विस्तारको काम अघि बढाउन अदालतको फैसला आएपछि काम अघि बढ्यो। २०७६ असोजको समयसीमा सकिएपछि २०७९ असारसम्म म्याद थपिएको थियो। पहिले स्थानीय बासिन्दाले सडक विस्तारमा अवरोध गरे। पछि निर्माण कम्पनीले कामै गर्ने जाँगर गरेन्।
सडक विस्तारमा भइरहेको ढिलासुस्तीले बुटवलको व्यापार व्यवसाय चौपट भएको छ । बुटवलमा आवागमन सहज नहुँदा महंगो भाडा तिरेर व्यवसाय गरेका व्यवसायीहरु निराश बनेका छन्। कतिपय व्यवसायीले पसल बन्द गरेर अर्कै व्यवसायमा लागेका छन् भने कतिपयले मणिग्रामतिर पसल खोल्न थालेका छन्। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजुले दुई दर्जन व्यवसायी विस्थापित भएको बताए। बुटवलको सडक अस्तव्यस्त हुँदा मणिग्राम वैकल्पिक बजारको रूपमा विकास हुन थालेको छ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष कसजुले सडक निर्माणमा भएको ढिलाईले बुटवलको व्यापार व्यवसायलाई असर परेको बताए। सडक विस्तार छिटो गर्न पटक–पटक सरोकारवाला निकायमा डेलिगेशन गएको तर काम पटक्कै नभएको उनको भनाई छ। उनले काम नगर्ने निर्माण कम्पनीको म्याद थप्न नहुने बताए।
रूपन्देही व्यापार संघका अध्यक्ष कृष्ण घिमिरेले बुटवलको व्यापार चौपट बनाउने निर्माण कम्पनीको म्याद थप्ने कार्य गंभीर अपराध हुने बताए। ‘एकातिर कोभिडले व्यवसायीलाई थला पा¥यो, अर्कोतिर अस्तव्यस्त सडकले व्यवसायी चौपट भए,–उनले भने,–अझै त्यही निर्माण कम्पनीलाई म्याद थप्नु हुन्न।’ लुम्बिनि दैनिकबाट