काठमाडौं। बाजुरा जिल्लाको मार्तडी कोल्टी सडक कोल्टी हुँदै हिमाली गाउँपालिकासम्म सडक निर्माण भएपछि व्यापार व्यवसाय गर्न निकै सहज भएको छ। सो सडक स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको सहयोगमा स्तरोन्नतिका लागि धमाधम काम सुरु भइरहेको हो।
सडककै कारण व्यापार व्यवसाय गर्न अन्य गाउँका सबैलाई पनि सहज भएको छ। दैनिक उपभोग्य सामान किन्न पसिना चुहाउँदै बाजुराको सदरमुकाम मार्तडी, बूढीनन्दा नगरपालिकाको कोल्टी बजारमा धाउनुपर्ने वाध्यता सकिएको हिमाली गाउँपालिकाले जनाएको छ।
पछिल्लो समय स्थानीय तहले वडापालिका समेत सडकले जोडेपछि स्थानीयवासीको जनजीवनलाई सहज मात्र छैन दैनिकीसमेत फेरिएको स्थानीयले बताए। पछिल्लो समयमा उक्त ठाउँका सबै स्थानीयवासीको सडक नै पहिलो प्राथमिकता भएको छ।
हिमाली गाउँपालिकाले, हिमाली गाउँपालिकाका सात वडा मध्ये चार वडा सडक सञ्जालको पहुँचमा छ भने बाँकी तीन वडामा पनि दुई वर्षमै सडक सञ्जालको पहुँच गर्ने तयारी भइरहेको बताएको छ।
यसभन्दा पहिला हिमाली गाउँपालिकाका स्थानीय झण्डै ६५ किलोमिटर पैदल हिँडेर मार्तडीबाट नून, तेल, दाल, चामललगायतका दैनिक उपभोग्य सामग्री ल्याउने गरिन्थ्यो। केही वर्ष भित्रै, गाउँपालिकाका सबै वडामा गाडी पुग्ने विश्वास गरिएको छ।
बाजुराका जगनाथ,गौमुल, गाउँपालिका र बुढीनन्दा, बडिमालिका , बुढीगङ्गा र त्रिवेणी नगरपालिका लगायतका स्थानीय तहका स्थानीयवासीलाई पनि गाउँमा जोडिएको सडक सञ्जालनले दैनिक उपभोग्यका सामान ढुवानी गर्न सहज बनेको छ।
स्थानीयको सहजताका लागि स्थानीय सरकारले पनि वडाका सबै बस्ती बस्तीमा सडक सञ्जाल जोडेर त्यसलाई चाँडै नै स्तरोन्नति गर्ने लक्ष्य राख्दै आएका छन्।