काठमाडौं। सरकारले तेह्रथुमसहित धनकुटा, संखुवासभा र भोजपुरमा चालू आथिक वर्षमा ५ सय ७० वटा घर निर्माण गरिरहेको छ। यी चार जिल्लाका सबै स्थानीय तहमा पर्ने गरी सरकारले दलित, लोपोन्मुख तथा सीमान्तकृत जातिका लागि घर निर्माण थालेको हो।
आगामी आवमा पनि सरकारले यी चारवटै जिल्लाका स्थानीय तहमा ५ सय ६५ वटा घर निर्माणका लागि वडा र बस्तीसमेत छनोट गरिसकेको छ।
प्रदेश र केन्द्रीय सरकारको आवास नीतिअनुसार विपन्न समुदायका लागि आवास सुविधा उपलब्ध गराउन लागिएको सहरी विकास तथा भवन कार्यालय धनकुटाका निमित्त प्रमुख सुरेशप्रसाद शाहले बताए। चालू आवमै काम सम्पन्न गर्ने गरी जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामा गरी ६ स्थानीय तहमा १ सय १० सुरक्षित आवास निर्माण गर्ने कार्यक्रम चलिरहेको प्रदेश सांसद् लक्ष्मण तिवारीले बताए।
सुरक्षित घर बनाएर बस्न नसक्ने आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई प्रदेश र केन्द्र सरकारसमेतको लगानीमा आवास निर्माण थालिएको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए। चालू आवमा संखुवासभामा दुई सय, धनकुटामा १ सय २० र भोजपुरमा १ सय ४० घर निर्माण भइरहेका छन्।
प्रदेशतर्फको आवास कार्यक्रम र संघबाट हस्तान्तरित आवास कार्यक्रमअन्तर्गत जनताको घर निर्माण गर्न लागिएको निमित्त कार्यालय प्रमुख शाहले बताए। जनता आवास कार्यक्रमअन्तर्गत जिल्लाका प्रदेश सांसदसहितको समितिले विपन्न नागरिकको पहिचान गर्ने काम गर्छ। पहिचानपछि छनोटमा परेका सबै घरको निर्माणकार्य सरकारले नै गरिदिने कार्यालयले जनाएको छ। कार्यविधिअनुसार जिल्लाका प्रत्येक स्थानीय तहमा प्रदेश र केन्द्र सरकारले सुरक्षित आवास निर्माण गर्न थालेको हो। जिल्लामा यस्तो सहयोग पाउने विपन्न दलित समुदाय परेका छन्।
छनोटमा परेका सवै घर आर्थिक वर्ष २०७९÷०८० मा बनाइसक्ने योजना रहेको मन्त्री आङबोको भनाइ छ। अघिल्ला वर्षहरूमा पनि विपन्न अवस्थाका परिवार छनोट गरी घर निर्माण गर्ने काम भइरहेको सहरी विकास तथा भवन कार्यालय धनकुटाले जनाएको छ। चार किस्तामा गरी घर निर्माणका लागि तीन लाख ३२ हजार रुपैयाँ छनोट भएका प्रत्येक परिवारलाई सरकारले उपलब्ध गराउने जनाएको छ। दुईकोठे घरको एक तला हुनेछ। घर नै बनाउन नसक्ने अवस्थामा रहेका परिवारले यो सुविधा पाएको प्रदेश सरकारले जनाएको छ। आगामी आर्थिक वर्षदेखि कार्यविधिको दायरा फराकिलो बनाएर प्राकृतिक विपत्तिमा परेका न्यून आर्थिक अवस्थाका परिवारको घर बनाउने कार्यक्रमसमेत समेटिने मन्त्री आङ्बोको भनाइ छ।
आगामी वर्षका लागि पनि कार्यालयले बनाउनुपर्ने घरको संख्या निर्धारण गरिसकेको जनाएको छ। निर्माणाधीन अवस्थाका घरहरू सम्पन्न भइसकेलगत्तै नया घर निर्माणको काम थालिने निमित्त कार्यालय प्रमुख शाहले वताए। त्यसका लागि तेह्रथुमा १ सय १०, भोजपुरमा १ सय ९०, धनकुटामा १ सय १५ र संखुवासभामा १ सय ५० घर निर्माण हुने तयारीमा रहेको कार्यालयले जनाएको छ। सरकारले घर निर्माण गरिदिएपछि धेरै सहज भएको संखुवासभाको धर्मदेवी नगरपालिका ६ आँखीभुइँका डम्बरबहाुदर विश्वकर्माले वताए। कारोबारबाट