काठमाडौं। विश्व प्रसिद्ध मर्दी हिमाल पदयात्रा क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा उपलब्ध गराउन पोखरा महानगरपालिका–२५ मेलबोटदेखि माछापुच्छ्रे गाउँपालिकाको अस्तामसम्म पर्यटकीय पूर्वाधार निर्माण गरिएको हो।
गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक पर्यटकीय पूर्वाधार’ निर्माण कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा मर्दी ट्रेकिङ रुटको मेलबोट–अस्ताम खण्डमा पैदलमार्ग, पार्क, रेलिङ लगायतका संरचना तयार गरिएको छ।
गत वर्षदेखि मेलबोट–झिझिर्का–अस्ताम–धिताल–धम्पुस–मर्दी हिमाल पैदलमार्ग तथा पर्यटकीय पूर्वाधार र पार्क निर्माणको योजना अघि सारिएको हो। मेलबोटबाट पदयात्रा शुरू भएर अस्ताम, धिताल, धम्पुस, प्रितम देउराली तथा धिताल ल्वाङ, घलेल कालीमाटी हुँदै मर्दी हिमाल जोड्ने गरी पदयात्रामार्ग विकास गर्ने योजना छ।
गण्डकी प्रदेश सरकारको गत वर्ष विनियोजन गरेको २५ लाख रुपैयाँ बजेटबाट पर्यटकीय पूर्वाधार र विभिन्न संरचना निर्माण गरिएको बताइएको छ। ३०० मिटर ढुंगाको छपनी बिछ्याएको सिँढी बाटो, ३११ मिटर रेलिङ, साइड वाल, ४ वटा चौतारी र पोखरी निर्माण गरिएको बताइएको छ।
अझै ५ वटा चौतारी र पोखरी पुनर्निर्माणको काम बाँकी छ। ४ सामुदायिक वन क्षेत्रमा पर्ने पदयात्रा क्षेत्रमा अप्ठ्यारो स्थानमा सिँढी बाटो निर्माण गरिए पनि पैदलमार्गको काम अझै बाँकी छ। प्रदेश सरकारले चालू वर्षमा पनि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएकाले थप काम अघि बढाइने जनाइएको छ।
मर्दी हिमाल पदयात्रामा जानका लागि हाल माछापुच्छ्रे गाउँपालिकाको धम्पुस, कालीमाटी, सिदिङ तथा अन्नपूर्ण गाउँपालिकाको अष्ट्रेलियन क्याम्पसम्म गाडीमा पुगेर पदयात्रा शुरू गर्न सकिन्छ। समितिको अग्रसरतामा मेलबोटबाट नै पदयात्रा शुरू गर्ने गरी पैदलमार्ग निर्माण गरिएको छ।