बारा। दशगजा र पूर्वपश्चिम महेन्द्र राजमार्ग जोड्ने उत्तर–दक्षिण मटिअर्वा–कलैया–पिलुवा सडक खण्डको २१ किलोमिटर हुलाकी सडक कालोपत्र भएको पाँच वर्षभन्दा बढी भयो। तर त्यही सडकमध्येको बीच भागमा पर्ने कलैया उपमहानगरपालिकाको मुख्य बजारको सडक न विस्तार हुन सकेको छ न कालोपत्र।
कलैयामा बन्नुपर्ने चार लेनको ३ किमि र बजारभन्दा दक्षिणतर्फको मटिअर्वा तथा शीतलपुरको ७ सय मिटर कालोपत्र अझै हुन सकेको छैन। सरकारले मुआब्जा तिर्न नसक्दा सडक अधुरै रहेको हो।
‘जहाँ मुआब्जा दिइयो, त्यहाँ बन्यो। जहाँ दिइएन, त्यहाँ अझै अधुरो छ,’ स्थानीय राजेन्द्र जयसवालले भने, ‘हामीले मुआब्जाका लागि वर्षौंदेखि माग गर्दा दिएको छैन। कसरी घर हटाऊँ, कसरी सडक बन्न दिऊँ सरोकारवाला कसैले चासो दिँदैन।’ हुलाकी राजमार्ग आयोजनाले उक्त अधुरो सडक बनाउन पटकपटक ठेक्का लगाउँदै आए पनि बिजुलीको पोल र घर नहटाइएको भन्दै काम अघि बढ्न सकेको छैन। आयोजनाले गत २०७८ माघमा १ वर्षभित्र निर्माण पूरा गर्न सप्तकोसी जलाधार ओम साई एन्ड कम्पनीलाई २२ करोड ३२ लाख रुपैयाँमा ठेक्का दिइसकेको छ। तर ठेक्का दिएको पाँच महिनामा सर्तअनुसार कम्पनीले काम गर्न सकेको छैन।
हुलाकी राजमार्ग आयोजना वीरगन्जका सूचना अधिकारी दुर्गा मण्डलका अनुसार मुआब्जा रोकिँदा ठेक्काको पाँच महिनामा ३ प्रतिशत मात्र काम भएको छ। मुआब्जाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयसित गत वर्ष १० करोड रुपैयाँ माग गरिए पनि पाउन नसकेको उनले बताए। ‘मुआब्जा नदिँदै ठेक्का दिइएको छ, यो वर्ष पनि बन्ने छाँट छैन, म्याद थप हुन्छ,’ उनले भने, ‘बिजुलीको पोल हटाउन ठेकेदारलाई दिनुपर्ने रकम र मुआब्जाको रकम छैन।’
दुई वर्ष अघिदेखि उक्त अपुग रकम माग हुँदै आए पनि अर्थ मन्त्रालयले निकासा नदिएको मण्डलले बताए। ‘कलैया बजारमा चार लेन र अरू बाँकी २ ठाउँमा २ लेनको कालोपत्र बनाउनुपर्नेछ,’ उनले भने, ‘१ सय ५० घरधनी र जग्गाधनीको मुआब्जा बाँकी छ।’ ‘एकातिर सवारीको चाप र अर्कोतिर सडक विस्तारसँगै कालोपत्र नहुँदा बजारै कुरूप भएको छ,’ स्थानीय प्रकाश सर्राफले भने, ‘सर्त र सहमतिअनुसार जति सक्दो छिट्टो मुआब्जा उपलब्ध हुन्छ, उति चाँडो सडक बन्न सक्छ।’ कान्तिपुरबाट