काठमाडौं। बजेट कार्यान्वयन गर्ने सार्वजनिक निकायले निर्माण व्यवसायीमाथि पुरस्कार र दण्डको नीति लिन मार्गदर्शन गरेको छ। सरकारले आगामी आवका लागि जारी गरेको मार्गदर्शनमा बजेट कार्यान्वयन गर्ने सार्वजनिक निकायले निर्माण व्यवसायीमाथि पुरस्कार र दण्डको नीति लिनु पर्ने उल्लेख गरिएकाे हो।
मार्गदर्शन अनुसार तोकिएको परिमाण, लागत, गुणस्तर र समय सीमा भित्र निर्माणको काम सम्पन्न गर्ने व्यवसायीलाई वित्तीय तथा गैरवित्तीय प्रोत्साहन दिनु पर्नेछ । काम नगर्ने निर्माण कम्पनीलाइ कानून अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाएर सम्झौता रद्द गर्न मार्गदर्शन गरिएकाे छ ।
आयोजना प्रमुखसहित अन्य कर्मचारीको समेत स्पष्ट कार्य विवरण, कार्यसम्पादन सूचक, अधिकार र उत्तरदायित्वसहित आयोजनामा खटाउनु पर्ने र कर्मचारी खटाउँदा कर्मचारीको योग्यता, क्षमता, अनुभव, इमानदारिता र आयोजना कार्यान्वयनमा विगतमा हासिल गरेको उपलब्धिको अभिलेखलाई आधार मान्नु पर्ने समेत मार्गदर्शनमा उल्लेख छ। जसले गर्दा यसअघि आयोजनाकाे काममा भएका सम्पूर्ण जस तथा अपजसकाे भागेदार निर्माण व्यवसायी मात्र हुने गरेकामा अब भने सार्वजनिक निकायका आयोजना प्रमुखसहित अन्य कर्मचारीकाे समेत मुल्यांकन हुने हुँदा हरेक याेजनाकाे जस र अपजस निर्माण व्यवसायीसँगै आयोजनासँग सम्बन्धित सम्पूर्ण कर्मचारी समेत भागेदार हुने छन्।
सार्वजनिक खरिद नियमावलीमा व्यवस्था भए अनुसार सम्झौता अवधि अगावै काम सम्पन्न गर्ने निर्माण कम्पनीलाई प्रोत्साहन स्वरूप सम्झाैता रकमकाे बढीमा १० प्रतिशत रकम थपेर दिने र काम ढिलासुस्ती गर्ने पटक पटक म्याद थप गर्दा पनि काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाइ सम्झाैता रकमकाे बढीमा १० प्रतिशत रकम जरीवाना तिराउने व्यवस्था छ। तर उक्त व्यवस्था कानुनमा धेरै र व्यवहारमा कम देखिएकोमा अब भने कडाइका साथ लागू गर्न मार्गदर्शनमा उल्लेख गरिएको छ।
हालसम्म नियमावलीमा भएपनि अधिकांश सार्वजनिक निकायले काम ढिलाेगरी सक्ने निर्माण व्यवसायीलाइ १० प्रतिशतसम्म कानुनमा रहेकाे भनि जरिवाना तिराउने गरेपनि बिड डकुमेन्टमा आफू खुसी बोनस प्रोत्साहनको प्रावधान हटाइ बोलपत्र आह्वान गर्ने र सोही अनुसारको सम्झौता गर्न निर्माण व्यवसायीलाई बाध्य गराउने गरेको पाइएको छ।
अर्थ मन्त्रालयले हाल जारी गरेको मार्गदर्शन लागू भएमा निर्माण व्यवसायी एकोहोरो कारबाहीमा मात्र नपरी सम्झौता समय अगावै काम गर्ने व्यवसायीले वित्तिय तथा गैरवित्तिय प्रोत्साहन समेत प्राप्त गर्ने छन्।