काठमाडौं। म्याग्दीको धौलागिरी गाउँपालिकाको वडा नम्बर ५ मल्कवाङ र ६ मराङ बस्तीलाई सडक सञ्जालसँग जोड्न पक्की पुल निर्माण भइरहेको छ। मराङ खोलास्थित अर्कलामा पक्की पुल निर्माण भईरहेको हो।
उक्त निर्माणाधीन मोटरेवल पुल निर्माण अन्तिम चरण पुगेको छ। तीन गाउँपालिका जोड्ने गरी रिङरोडको परिकल्पना गरेर ५ वर्षअघि निर्माण गरिएको मालिका गाउँपालिकाको केन्द्र दरबाङ, विम हुँदै धौलागिरि गाउँपालिकाका मराङ, मल्कवाङ र रघुगंगा गाउँपालिकाको ८ नम्बर वडा कुइनेखानी जोड्ने सडकअन्तर्गत मराङ खोलामा मोटरेबल पुल निर्माण गरिएको हो।
पुल नहुँदा यी वस्तीमा वर्षातका समयमा यातायात अवरुद्ध हुँदै आएको थियो। पुल निर्माण सम्पन्न भएपछि धौलागिरिको वडा नम्बर ५ मल्कबाङ, ६ मराङ र रघुगंगा गाउँपालिकाको ८ कुइनेखानीका स्थानीयवासीहरूलाई आवतजावत गर्न सहज हुनेछ।
पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दीले २०७६ माघ २९ गते दुई वर्षमा सक्ने गरी फेवा सावित्री पोखराको निर्माण कम्पनीसँग २ करोड ७२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। गत चैत ३० गतेसम्म सम्पन्न गर्नुपर्नेमा कोरोना महामारीका कारण पुल निर्माण गर्न केही महिना ढिला भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
थपिएको म्यादभित्र निर्माण कम्पनीले मजदुर र उपकरण परिचालन गरेर समयभित्रै पुल निर्माण सक्न थालेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। ‘७ मिटर चौडाइ रहेको उक्त पुल २५ मिटर लामो पुलको ढलान काम सम्पन्न भएको छ, पुलको दुवैतर्फको संरचना निर्माण गर्न बाँकी छ, अबको दुई÷तीन महिनामा सवै सम्पन्न भई यातायात सञ्चालन हुने बताइएको छ।
पुल निर्माण भएपछि वर्षातका समयमा आवतजावत गर्न मात्र नभएर बिरामिलाई अस्पताल लान पनि सहज हुने विश्वास गरिएको स्थानीयले बताएा छन्।