काठमाडौं। काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले शहर व्यवस्थापनमा आचरण सुधारको खाँचो भएको बताएका छन्। महानगर क्षेत्रभित्र पूर्वाधार विकासका लागि काम गर्ने कार्यालयका अधिकारीका बीच सम्पन्न भएको पूर्वाधार विकास समन्वय बैठकमा प्रमुख शाहले शहर व्यवस्थापनमा आचरण सुधारको खाँचो भएको बताएका हुन्।
उनले भने, ‘सडक, खानेपानी, ढल निकासजस्ता भौतिक पूर्वाधारको सञ्जाल, बिजुली, टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकको तार सञ्जाल, फोहोरमैला व्यवस्थापनजस्ता कामका लागि पहिले सफ्टवेयरमा काम गरौँ । त्यसपछि हार्डवेयरमा काम गर्नुपर्छ।’
उनले खानेपानी वितरणका लागि खनिएका वडा १३, १४, १५ र २६ का सडक कहिले सम्ममा कालोपत्रे हुन्छन् ? भनि प्रश्न समेत गरेका छन्।
त्यस्तै विद्युत प्राधिकरणका अधिकारीलाई, वडा नं.३ रानीबारी क्षेत्र, वडा ४ को बालुवाटार, विशालनगर, धुम्वराही क्षेत्र, वडा ५ को हाँडीगाउँ, माली गाउँ, कालो पुल क्षेत्र, वडा २६ को नयाँ बसपार्क क्षेत्रमा विजुलीको तार भूमिगत गरेपछि छोडिएको सडक कहिले सम्ममा पुनस्र्थापना हुन्छ ? भन्दै प्रश्न गरे, ‘बिजुली भूमिगत गरिएपछि मर्मत गरिएको पैदल मार्ग पनि उबडखाबड छ । यसको सतहलाई कसरी मिलाउन सकिन्छ ?’ उनको प्रश्न थियो । प्रमुख शाहले महानगर अन्तर्गत गर्नुपर्ने काम तदारुकताका साथ गरिने जानकारी दिए ।
बैठक उपप्रमुख सुनिता डंगोलले सहरी विकासका काममा समन्वय होस् अन्योल नहोस् भन्ने उद्देश्य राखेर बैठक आयोजना गरिएको बताइन् । उनले भनिन्, ‘साझेदार कार्यालयहरूको चालु आर्थिक वर्षका योजना र बजेटका विषयमा अद्यावधिक हुन पाइयो । कुन काम कसको क्षेत्राधिकारभित्र पर्छ स्पष्ट हुँदै गएको छ । यति नहुँदा महानगरले आफ्नो दायित्वमा नपर्ने विषयमा सेवाग्राहीका अपेक्षा सुन्नुपरेको थियो । बर्खामा गर्न सकिने काम बर्खामै गरौँ । अहिले गर्न सकिँदैन भनिएका सडक कालोपत्रे सहितका काम बर्खा सकिने वित्तिकै गरौँ।’
यो पनिः
ल्यान्डफिल्ड साइटसम्मको सडक निर्माणका लागि समन्वय भइरहेको छ: बालेन साह