कञ्चनपुर। शुक्लाफाँटामा कालोपत्रे गरिएको सडक १३ दिन नपुग्दै ठाउँठाउँमा उप्किन थालेको छ। वडा नम्बर १२ कालागौडीमा गरिएको कालोपत्रे उक्किएको हो।
कालोपत्रे भत्किएपछि स्थानीयले विरोध गरेका छन्। सडक कालोपत्रे भइरहँदा पनि स्थानीयले पटक–पटक ठेकेदारलाई गुणस्तरमा प्रश्न उठाएकोमा कसैले चासो नदिएको केशवबहादुर साउदले बताए। ‘मन्त्रीको दबाबमा यहाँ सडक निर्माण भइरहेको छ। तिमीहरूले अवरोध गरे अर्को ठाउँमा जान्छौँ यो काम यहीँ छोड्छौँ भन्दै हामीलाई प्राविधिकले धम्की दिँदै काम गरेका हुन्’, उनले भने।
उक्त सडक सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा बनेको हो। ४२ लाखको योजना रहेकोमा प्रकाश नेगीले सडक निर्माणको ठेक्का २५ लाखमा सम्झौता गरेका थिए। उनीसँगै शुक्लाफाँटा नगरपालिकाका कर्मचारी टेकेन्द्रप्रसाद भट्ट पनि उक्त कामको हिस्सेदार छन्। उनी नगरपालिकाको योजना शाखामा सब इन्जिनियर पदमा कार्यरत छन्।
पूर्वाधार विकास कार्यालय प्रमुख दीपक नेगीका भाइ र नगरपालिकाका सब इन्जिनियर भट्टले ठेक्का लिएर गरेको काम गुणस्तरीय नभएको स्थानीयको आरोप छ। तर पूर्वाधार विकास कार्यालयका प्रमुख नेगीले पारिवारिक सम्बन्धका कारण ठेक्का उपलब्ध नगराएको दाबी गरे।
नगरपालिकाका सूचना अधिकारी हेमराज भट्टले अहिले काम गुणस्तरहीन भएको गुनासो आएपछि निकासा रोकिएको र पुनः कालोपत्रे गर्न लगाउने बताए। स्थानीयले विरोध गरेपछि शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महराले कालोपत्रे सडकको निरीक्षण गरेका छन्। अनुगमनपछि नगर प्रमुख महराले नगरपालिका कार्यालयमा निर्माण व्यवसायी ठेकेदारलाई बोलाएर छलफल गरेका थिए। छलफलका क्रममा ठेकेदार नेगीले सडक मर्मत गर्ने प्रतिबद्धता जनाए।
भट्टलाई कारवाही गर्न माग
शुक्लाफाँटा नगरपालिका १२ कालागौडीमा कालोपत्रे सडक भत्किएपछि विवादमा तानिएका शुक्लाफाँटा नगरपालिकाका सव इन्जिनियर टेकेन्द्रप्रसाद भट्टलाई कारवाही गर्न स्थानीयले माग गरेका छन्। सरकारी कर्मचारीले आचरण र कानुनविपरीत कार्य गरेकाले तत्काल कारवाही गर्नु पर्ने उनीहरूको माग छ।
नगरपालिकाको योजना शाखामा कार्यरत भट्ट कालागाडौमा भत्किएको कालोपत्रे ठेक्कामा साझेदार देखिएका छन्। पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले ४२ लाखमा प्रकाश नेगीसित सम्झौता गरेको छ। सब इन्जिनियर भट्ट नेगीसित ठेक्कामा साझेदार छन्। स्थानीयका अनुसार सब इन्जिनियर भट्ट सडक निर्माणका लागि पटक–पटक आउने गरेका थिए।
स्थानीय केशव साउदले भट्टलाई तत्काल कारवाही गर्नुपर्ने बताए। ‘सरकारी जागिर पनि खाने, ठेक्कापट्टा पनि गर्ने, यो सरासर गैरकानूनी काम हो’ उनले भने,‘छिटो भन्दा छिटो कारवाही होस्।’
स्थानीय साउँद लगायतले सडक भत्किएको भन्दै विरोध गरेपछि अहिले स्थानीय सरकार र पूर्वाधार कार्यालय दुवै सडक निर्माण स्थलमा पुगेका छन्। नगरपालिकाले सडक कालोपत्रेमा विवादमा मुछिएका सव इन्जिनियर भट्टबारे आधिकारिक धारणा बाहिर ल्याएको छैन। स्थलगत निरीक्षणमा पुगेका नगर प्रमुख महरालाई स्थानीयले सब इन्जिनियर भट्टलाई कारबाही गर्न माग गरेका थिए।
सब इन्जिनियर भट्ट सडक निर्माण हुँदा आउने गर्दा स्थानीयले नगरपालिकाको बजेट भएको आशंका गरेका थिए। कालोपत्रे उप्किएर विवाद बढेपछि भट्ट कर्मचारी र ठेकेदार दुवै भएको खुलेको हो। थाहाखबरबाट