काठमाडौं। धरान–धनकुटा सडक खण्डअन्तर्गत पर्ने धनकुटा–लेउतीमा निर्माण गरिने सुरुङमार्गका लागि १० अर्ब भन्दा बढी लागत लाग्ने भएको छ। ३.८९ किलोमिटर दूरीको सुरुङमार्ग निर्माणका लागि १० अर्ब ६३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको हो।
सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धन तथा विकास केन्द्रले तयार पारेको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) अनुसार उक्त सुरुङमार्ग निर्माण गर्नका लागि १० अर्ब ६३ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।
यो भनेको प्रतिकिलोमिटर झन्डै ३ अर्ब रुपैयाँ हो। यो सुरुङमार्ग निर्माण सम्पन्न भएपछि धरान–धनकुटा हुँदै यात्रा गर्ने यात्रुलाई साढे १४ किलोमिटर दुरी छोटो हुने विकास केन्द्रले जनाएको छ।
नेपाली परामर्शदाता कम्पनीले नै यसको अध्ययन अघि बढाएको थियो। सम्भाव्यता अध्ययन अनुसार यो सुरुङमार्ग ३.८९ किलोमिटर लम्बाइको बन्नेछ। यो विकासले बनाउने सुरुङमार्ग हालसम्मको लामो छ। यसको सम्भाव्यता अध्ययनका लागि भनेर परामर्शदाता टीएमएस ईआई माभेन रेस जेभीसँग ३० लाख १५ हजार रुपैयाँमा ठेक्का लगाइएको थियो।
सरकारले यो वर्षबाट निर्माण सुरु गर्ने भनेका तीनवटै सुरुङमार्ग इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपीसी) मोडलमा बनाउने भएको छ। यो वर्ष निर्माण हुने सुरुङमार्गमा सिद्धबाबा, लामाबगर–लाप्चे र यही धरान–लेउती छन्।
विकास केन्द्रका अनुसार निर्माणको तयारी भइरहेका सबै सुरुङमार्ग इपीसी मोडलमा निर्माण हुने जानकारी दिएको छ। नेपालमा अन्य मोडेलबाट सुरुङमार्ग निर्माण प्रक्रिया नै जटिल हुने भएकाले इपीसीबाट निर्माण गर्न लागिएको हो।
अहिले पूर्वाधार आयोजनाहरु निर्माणमा बिल अफ क्वान्टिटी (बीओक्यु), डिजाइन एण्ड बिल्ड र इपीसी गरी तीनवटा मोडल प्रचलनमा छ। बीओक्युमा विस्तृत आयोजना प्रतिवेदन तयार पारिन्छ। त्यसपछि निकालिएको ठेक्कामा निर्माण कम्पनीले प्रतिस्पर्धा गर्न पाउँछन्। प्राविधिक रूपमा पास भएर सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीले ठेक्का पाउँछन्।
डिजाइन एण्ड बिल्ड मोडेलमा निर्माण कम्पनीले नै आयोजनाको डिजाइन गर्छ। तर यसमा डिजाइन परिवर्तन वा भेरिफिकेसन गर्न जटिल छ।
सुरुङमार्गको ठेक्काका लागि इपीसी नै उपयुक्त भएको विकास केन्द्रको दाबी छ। केन्द्रका अनुसार जलविद्युत आयोजनाका धेरै सुरुङहरु इपीसीबाटै बनाइएका छन्। नेपालमा यी सबै सडक सुरुङमार्ग यही मोडलबाट निर्माण हुन्छ।
याे पनि:
ठेकेदारले थाले सुरुङमार्ग डिजाइनको काम, आगामी फागुनदेखि निर्माण सुरु हुँदै