काठमाडौं। श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ विक्री गरेको कम्पनीले आजदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो ।
कम्पनीले सर्वसाधारणका लागि २३ करोड ८९ लाख ५० हजार रूपैयाँ बराबरको २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको छ । जसमध्ये पाँच प्रतिशत अर्थात एक लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरेर बाँकी २२ लाख ७० हजार २५ कित्ता आईपीओ सर्वसाधारणको लागि छुट्याइएको छ ।
यो आईपीओ छिटोमा साउन ८ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन १८ गतेसम्म विक्री खुला हुनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ निष्कासन हुँदा परेको आवेदनको तथ्याङ्कलाई हेर्दा यो आईपीओमा समेत छिटो अवभित्रै मागभन्दा बढी आवेदन पर्ने देखिएको छ ।
यो आईपीओ विक्री प्रबन्धकमासानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने । साथै, मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ ।
यस कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको पानी उपयोग गरी २८ दशमलव १ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । हालसम्म आयोजनाको भौतिक प्रगति करिब ८३ प्रतिशत रहेको कम्पनीको भनाई छ । निर्माण अवधिको ब्याज सहित यस आयोजनको प्रतिमेगावाट लागत रू २२ करोड ६७ लाख ६१ हजार र कुल लागत रू.६ अर्ब ३७ करोड २० लाख हुने अनुमान गरिएको छ ।
याे पनि:
सिक्लेस हाइड्रोपावरले साउन ६ गतेदेखि आईपीओ निष्कासन गर्ने