काठमाडौं। गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना भएपछि बन्द भएको पोखरा–जोमसोम उडान अझै सञ्चालन हुन सकेको छैन। दुर्गम क्षेत्रमा सेवा दिँदै आएको निजी वायुसेवा कम्पनी तारा एयरले अघोषित रुपमा सेवा बन्द गरेपछि उठान ठप्प भएको छ।
नेपालका दुर्गम क्षेत्रमा उडान सेवा दिने तारा एयर मात्र छ। सीता एयर, समिट र नेपाल एयरले पनि सेवा दिने गरे पनि जहाज कम भएकाले जोमसोम उडान गर्न सकेको छैन। हवाइ सेवा प्रदायक कम्पनीले पोखरा–जोमसोम नियमित उडान जेठ १५ गते देखि नै बन्द गरेका हुन्।
बेनी–जोमसोम सडक खण्डमा वर्षाको समयमा जोखिम तथा सडक पनि जोखिमयुक्त हुने भएकाले हवाइ यातायात सुरक्षित मानिने भए पनि हवाइ सेवा प्रदायकहरुले उडान नगर्दा मुस्ताङका सर्वसाधारणहरु मर्कामा पर्ने गरेका छन्।
गएको जेठ १५ गते विमान दुर्घटनापछि साउन ३ गते सम्म ४८ दिनको अवधिमा दुई दिनमा ९ उडान भएको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख पुस्कलराज शर्माले बताए। दुर्घटनामा परेको तारा यएरले पछिल्ले पटक पोखरा–जोमसोम रूटको उडान तालिका नै हटाएको स्थानीय पर्यटन व्यवसायीको भनाइ छ।
सिजनको समयमा पोखरा–जोमसोम रूटमा दैनिक १५ देखि १८ वटासम्म उडान हुने गरेको थियो । सामान्य अवस्थामा पनि दैनिक तीन उडान हुने गर्दथे । चिसोको समयमा भने केही समय उडान रोकिन्थ्यो। चिसोमा मुस्ताङकै बासिन्दा पनि चिसो छल्नका लागि अन्यत्र जाने हुँदा मुस्ताङ सुनसान हुने भएकाले त्यो समय भने उडान स्थगित हुने गरेको थियो।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निजी क्षेत्रका बिमान कम्पनीहरुले आफ्नो व्यापारिक हिसाबले पायक पर्ने क्षेत्रतर्फ ध्यान दिएर मुस्ताङ उडान नगरेको हुनसक्ने बताए। हवाइ मार्ग रोकिँदा हवाइ मार्गबाट आउन पर्यटकहरुको सङ्ख्यामा कमिीआएको मुक्तिनाथस्थित होटल अन्नपूर्ण इनका सञ्चालक अमृत सुवेदीको भनाइ छ। गोरखापत्रबाट