काठमाडौं। तराई (मधेश) द्रुतमार्ग परियोजनाले आर्थिक वर्ष २०७८/०७९ सम्ममा २१.२० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ। आयोजनको कुल काममध्ये २१.२० प्रतिशत सकिएको र गत आवमा कार्ययोजनाअनुसार भौतिक र वित्तीय प्रगति करिब ९९ प्रतिशत पूरा भएको नेपाली सेनाले जनाएको छ।
गत आवमा सरकारले द्रुत मार्गका लागि ८ अर्ब ८४ करोड रुपैयाँ विनियोजन गरेको थियो। चालू आर्थिक वर्षका लागि भने ३० अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ८ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएको थियो।
सुरुङमार्गको प्याकेज १ र २ को सर्भे फिल्ड इन्भेस्टिगेसन डिजाइन तथा ड्रइङ कार्य सम्पन्न गरी निर्माण कार्य प्रारम्भ भएको जनाइएको छ। त्यस्तै, दु्रतमार्ग खण्ड प्याकेज ३,४ र ५ (राजदमार–निजगढ खण्ड) को बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरिएको छ। साथै ६, ७ खण्डको (लेनडाँडा–राजदमार) तथा प्याकेज ८ को बोलपत्र आह्वान मूल्यांकन कार्य सम्पन्न गरी ठेक्का सम्झौता गर्ने र मोबिलाइजेसनसहितको निर्माण कार्य प्रारम्भ गर्ने सेनाले बताएको छ।
सो दु्रतमार्गमा पर्ने ३ सुरुङमार्गमध्ये २ सुरुङमार्ग खन्ने काम भइरहेको र असार ३० गतेसम्म दुवै सुरुङमार्गकोे करिब ५० मिटर खन्ने काम पूरा भएको जनाइएको छ ।
काठमाडौं–तराई मधेश द्रुतमार्ग आयोजना देशको राजधानीलाई तराई/मधेशसँग जोड्न काठमाडौंदेखि बाराको निजगढसम्म ७६।.२ किलोमिटर रहेको छ। दु्रतमार्ग निर्माण कार्य ४ वर्षभित्र निर्माण सम्पन्न गर्न नेपाल सरकारले ०७४ वैशाख २१ को निर्णयअनुसार आयोजना सोही वर्षको साउन २७ मा नेपाली सेनालाई हस्तान्तरण भएको थियो।
एसियाली विकास बैंकको सहयोगमा सन् २००८ मा तयार भएको सम्भाव्यता अध्ययन तथा प्रारम्भिक डिजाइनको आधारमा आव २०६४।०६५ मा निर्माण कार्य प्रारम्भ भएकोमा नेपाल सरकारबाट ०७६ भदौ १ मा स्वीकृत विस्तृत आयोजना प्रतिवेदनअनुसार सडक, पुल तथा सुरुङ मार्गसमेत निर्माण गर्न विभिन्न कन्टिन्जेन्सी तथा मूल्य अभिवृद्धि करसमेत २ खर्ब १३ अर्ब ९५ करोड लागत लाग्ने देखिएकोमा गत आर्थिक वर्षसम्म २९ अर्ब ७ करोड ६२ लाख खर्च भएको महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ।
विस्तृत सम्भाव्यता अध्ययन गरेर २०६४/०६५ मा निर्माण सुरु भएको आयोजनाको स्वीकृत विस्तृत आयोजना प्रतिवेदनअनुसार ७२.५ किलोमिटर सडक, ८७ पुल, तीन सुरुङ मार्ग, तीन इन्टरचेन्ज, तीन टोल प्लाजा, रेट एरिया, सुविधाहरू, वातावरणीय, सामाजिक र अन्य समेतको लागत अनुमान २ खर्ब १३ अर्ब ९५ करोड रुपैयाँ छ।
नेपाल सरकारबाट स्वीकृत विस्तृत आयोजना प्रतिवेदनअनुसार निर्माण हुने सडकको लम्बाइ ७६.२ किलोमिटरबाट ७२.५ किलोमिटर कायम भएको, कुल लम्बाइ ७२.५ किलोमिटरमध्ये ६.४१५ किलोमिटरको ३ सुरुङ तथा १०।.५७६ किलोमिटर लम्बाइका ८७ पुल निर्माण, ५५.५० किलोमिटर मात्र सडक निर्माण गर्नुपर्ने र केही स्थानको रेखांकनसमेत परिवर्तन भएको छ।
यसबाट विस्तृत आयोजना प्रतिवेदन स्वीकृत हुनुभन्दा अघि भएका खर्च एवं निर्माण भएका संरचना नयाँ परियोजना प्रतिवेदनअनुसार निर्माण हुने संरचनाभित्र समावेश भई उपयोग हुने–नहुने सम्बन्धमा आयोजनाले विश्लेषण नगरेको पाइएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। सरकारबाट स्वीकृत विस्तृत आयोजना प्रतिवेदनअनुसारको निर्माण कार्य सम्पन्न गर्न आयोजनाले कुल कार्यलाई ११ प्याकेज अथवा क्लस्टरमा विभाजन गरेको छ। गत आवमा दुई प्याकेजको मात्र निर्माण सम्झौता भएको छ। सबै प्याकेज क्लस्टरअनुसार निर्माण कार्य आव २०८१/०८२ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। सरकारबाट स्वीकृत विस्तृत आयोजना प्रतिवेदनअनुसार सुरुङ निर्माण गर्न ३४ अर्ब ५३ करोड ६५ लाख लागत लाग्ने उल्लेख छ। कारोबार दैनिकबाट
यो पनिः
काठमाण्डौं–तराई/मधेश द्रुतमार्ग निर्माणका लागि ईन्जिनियरको आवश्यकता