पाल्पा। यो वर्ष पाल्पामा पाच वटा पुल निर्माण भएका छन्। लुम्बिनी प्रदेश सरकारको लगानीमा पुल निर्माण सम्पन्न भएका हुन्।
सडक पूर्वाधार कार्यालय पाल्पाका अनुसार हुमिन–रिङ्नेरह–ज्यामिरे सडकखण्डको पूर्वखोलामा कोन्द्रेखोला, झुम्सा–चरङ्गे–धागो कारखाना सडकखण्डको ह्याकबारी र ढुङ्गानाबेँसी– झिरुबास सडकखण्डमा गल्घा पुलको निर्माण कार्य सम्पन्न भएको छ। यस्तै तिनाउ–५, को चर्चरे, निस्दी गाउँपालिका–६, स्थित अर्चले र गल्धा अर्चलेको रेचेघाट पुल सकिएको सडक पूर्वाधार कार्यालयले जनाएको छ।
हालसम्म निर्माण सम्पन्न भएका पाँचवटा पुलका लागि प्रदेश सरकारले १५ करोड ६८ लाख ४३ हजार रुपियाँ बजेट विनियोजन गरेको थियो। डेढ वर्षअघि प्रदेश सरकारकै बजेटमा तानसेन–९, अम्लिहाना तिनाउ खोला पुल निर्माण सम्पन्न भइसकेको छ।
आर्थिक वर्ष २०७९/८० भित्रै थप नौवटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ। माथागढीको बधबारी, खहरे र अरुण खोला पुल निर्माण सम्पन्न हुनेछ। त्यस्तै तानसेन–रानीमहल सडकखण्ड गाईघाट पुल, रामपुरमा मसानेघाट पुल, तिनाउको सत्यवतीमा गोरबन्दी पुल निर्माण सम्पन्न हुनेछन्। हुमिन–ज्यामिरे सडकखण्डको जमलेमा जमलेघाट, झुम्सा–चरङ्गे–धागोकारखाना सडकखण्डमा पालनधारा र दिलदमारमा पुल बन्ने कार्यालयले जनाएको छ।
सडक पूर्वाधार कार्यालयले पछिल्लो तीन वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा १२ किलोमिटर सडक कालोपत्रे गरेको छ। तानसेन–रानीमहल जाने सडकखण्डमा सात किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ।
यो पनिः
सम्झौता भएको समय भन्दा पाँच महिना अगावै मोटरेबल पुल निर्माण सम्पन्न