गोरखा। योजना फर्स्योट र सामाजिक सुरक्षा भत्ता वितरणका लागि चुमनुव्री गाउँपालिकामा असार २८ गते हेलिकोप्टरबाट ५ करोड रकम ढुवानी भयो। भौगोलिक रुपमा विकट चुमनुव्रीमा छिटो र सुरक्षित पैसा पुर्याउने अर्को विकल्प कुमारी बैंकसँग थिएन। हेलिकोप्टरबाट पैसा झरेपछि बल्ल योजनाका बजेट भुक्तानीको चाप बढ्यो।
योजना भुक्तानी, सामाजिक सुरक्षा भत्ता र नियमित बैंकिङ सेवा सञ्चालनका लागि बैंकले हेलिकोप्टर नै चार्टर गर्दै आएको छ। सडक सञ्जालको पहुँचबाहिर रहेको चुमनुव्रीका स्थानीय आकस्मिक रूपमा हुने बिरामी उद्धार तथा अत्यावश्यक कामका लागि हेलिकोप्टरकै भर गर्छन्।
सुत्केरी, बिरामी र अत्यावश्यक काममा आउजाउ गर्नेलाई महँगो शुल्क तिरेर हेलिकोप्टरमा उड्नुपर्ने बाध्यता छ। यही विकट भूगोलमा विकासका योजनामा स्थानीय हेलिप्याडको माग अघि सार्छन्। योजना संकलनका क्रममा हेलिप्याड प्राथमिकतामा पर्छ। चुमनुव्रीमा वडा, गाउँपालिका र स्थानीयकै सक्रियतामा २६ हेलिप्याड बनिसकेका छन्। पछिल्लो ५ वर्षमा १२ हेलिप्याड बनेको गाउँपालिका योजना शाखाको अभिलेख छ।
गत आर्थिक वर्ष चुमनुव्री–३ फिलिमस्थित गङरङमा ४ लाखको लागतमा हेलिप्याड निर्माणाधीन छ। व्यक्तिको जग्गा ७ वर्षका लागि वार्षिक २५ हजार रुपैयाँ भाडामा लिएर हेलिप्याड बनाइएको वडाध्यक्ष रामकुमार गुरुङले बताए।
‘फिलिम बस्ती नजिकैको हेलिप्याडमा हेलिकोप्टर बस्दा अन्नबालीमा धेरै क्षति पुर्यायो,’ गुरुङले भने, ‘विकल्पमा अर्को हेलिप्याड बनाएका हौं ।’ फिलिममा बनेको हेलिप्याडबाट सिर्दिबास हेल्थपोस्ट पुग्न पनि सहज हुने स्थानीयको विश्वास छ । ‘इमरजेन्सी बिरामी बोक्न हेली आइरहन्छ,’ उनले भने, ‘दुर्गम ठाउँमा पहिले नै सचेत भएर स्थानीयलाई पायक पर्ने गरी हेलिप्याड नबनाए पछि दुःख पाउने पनि यहीँका जनता हुन्।’
छिटो उद्धारका लागि हेलिकोप्टरबाहेक अन्य विकल्प नरहेकाले पनि टोलटोलमा पायक पर्ने गरी हेलिप्याड आवश्यक देखिएको स्थानीय बताउँछन्। वडाध्यक्ष गुरुङका अनुसार वडा नम्बर ३ मा मात्र ६ ठाउँमा अस्थायी र स्थायी हेलिप्याड छन्। जगत बगर, पाङसिङ, न्याक, सरजुङ र पाती गाउँमा हेलिप्याड रहेको उनले सुनाए। ‘हेल्थपोस्टमा उपचार सम्भव नभए जाने भनेको काठमाडौंका अस्पताल हो, हिँडेर जान लागे ३ दिनमा पुगिन्छ,’ चुमनुव्री–३ देवलकी मन्दरी गुरुङले भनिन्, ‘जति खर्च लागे पनि हेलिकोप्टरमा गए छिटो पुगिन्छ, बचिन्छ कि भन्ने आस पनि भयो।’
चुमनुव्रीको सबैभन्दा माथिल्लो सामागाउँ र साम्दोका स्थानीयलाई पैदल सदरमुकाम वा काठमाडौं पुग्न परे कम्तीमा चार दिन लाग्छ। धार्चे गाउँपालिकास्थित माछाखोलासम्म पैदल आएका स्थानीय माछाखोलाबाट गाडीमार्फत गन्तव्यमा पुग्छन्।
चुमनुव्री–७ को एउटै वडामा ९ वटा हेलिप्याड छन्। छेकम्पारको छेकम, झोङ, नाक्युलेरु, लामागाउँ, लार, फुर्वे, निले, छुले र पाङदुरमा छुट्टाछुट्टै हेलिप्याड गएको पाँच वर्षमा निर्माण भएको गाउँपालिका योजना शाखा प्रमुख वेदप्रकाश ढकालले बताए। एउटा हेलिप्याड करिब तीन लाख रुपैयाँमा बनाइएको हो। वडा नम्बर ५ को क्र्याक र बिहीमा दुईवटा छन् । वडा नम्बर २ को ल्होमा सांसद विकास कोषको १५ लाख, लिहीमा गाउँपालिकाकाको १० लाख र स्योमा तीन लाख लागतमा हेलिप्याड निर्माण भएका हुन्। वडा नम्वर २ को स्यालामा पनि एउटा हेलिप्याड यसअघि नै प्रयोगमा छ। वडा नम्बर ४ मा स्थानीयको सक्रियतामा बनेको हेलिप्याड प्रयोगमा छ भने वडा १ को सामागाउँमा दुई र साम्दोमा १ हेलिप्याड प्रयोगमा छन्।
‘वडा नम्बर ७ मा टोल स्तरबाटै योजना माग भएर हेलिप्याड बनेका हुन्,’ योजना शाखा प्रमुख ढकालले भने, ‘वडा ६ को चुम्लिङमा अस्थायी हेलिप्याड छ, चुम्चेतमा बनाउनुपर्नेछ।’ विकट भौगोलिक बनावटले पनि हेलिप्याडको अवश्यकता बढेको उनको भनाइ छ। ‘कुन बेला के हुन्छ, के पर्छ भन्न सकिन्न, हेलिप्याड नहुँदा कसको बारीमा बस्ने भन्ने समस्या थपिन्छ,’ उनले भने, ‘आवश्यकता देखेर नै हेलिप्याडको योजनालाई प्राथमिकता दिएका हौं।’ कान्तिपुरबाट
यो पनिः
बैतडीका सबै स्थानीय तहमा हेलिप्याड निर्माण गरिने