काठमाडौं। सर्लाहीको उत्तर–पूर्वी भेगमा पर्ने ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोर दोङखोरियामा वनको जग्गा बेचबिखन गरी धमाधम घरटहरा निर्माण भइरहेका छन्। फूलजोर बाबा साझेदारी वनक्षेत्रको पलोट (चौडी)मा पक्की घरसमेत निर्माण भएका छन्। सहर बजारको जस्तै वनको जग्गामा पक्की घर निर्माण गरी व्यापार व्यवसाय सञ्चालन भइरहेका छन्।
आसपासका स्थानीयका अनुसार आपसमा कागज बनाएर वनको जग्गा खरिद बिक्री भइरहेको छ। केही वर्षअघिसम्म सिसौले भरिएको पलोटक्षेत्रमा अहिले घर निर्माण गर्नुका साथै मकै, तोरी, बेसारलगायतका बाली र तरकारी खेती भइरहेको छ।
पलोटका सबै सिसौ रातारात काटेर बेपत्ता पारिएको छ। सुकुम्बासीको नाममा पलोटको जग्गा अतिक्रमण गरेर बिक्री गरी आम्दानी गर्नेमा केही समूह देखिएका छन्। राम्रो बाली उब्जिने भएकाले पलोट क्षेत्रको जग्गामा बाहै्र महिना खेती लगाइन्छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत फूलजोर चोकबाट नौ किलोमिटर उत्तरमा पर्ने कालिञ्जोरको दोङखोरिया क्षेत्रमा स्थानीय केही परिवार र छिमेकी गाउँ देउराली, झरझरालगायतका क्षेत्रबाट आएका व्यक्तिले वनको जग्गा अतिक्रमण गरी घरटहरा निर्माण गरी खेतीपाती गर्दै आएका छन्। वन अतिक्रमण गरेर बसेकै बस्तीमा नगरपालिकाले गत वर्ष नाला निर्माण गरेको थियो ।
गाउँमा बिजुलीको सुविधा पनि पुगेको छ। केही वर्षअघि साविक जिल्ला वन कार्यालयले सुरक्षाकर्मीको सहयोगमा त्यस ठाउँमा वन अतिक्रमण गरी बनाइएका संरचना भत्काउनुका साथै बालीनाली नष्ट गरेको भए पनि पछिल्लो समयको अतिक्रमण खाली गराउन चासो दिएको छैन।
सुरुमा केही घर निर्माण गरिएका भए पनि अहिले बाक्लो बस्ती बसेको छ। डिभिजन वन कार्यालय सर्लाहीले अतिक्रमण नियन्त्रणका लागि नियमित गस्ती गर्नेदेखि अन्य गतिविधि गर्दै आइरहेको जनाएको छ। डिभिजन वन कार्यालय सर्लाहीका सहायक वन अधिकृत साजन चौधरीले अतिक्रमण गरिएका कतिपय क्षेत्रमा अतिक्रमण हटाएर वृक्षरोपण गरिएको बताए। उनले थप वनक्षेत्र अतिक्रमण हुन नदिन कालिञ्जोर क्षेत्रमा तारबारको कामसमेत भएको जानकारी दिए।
सर्लाहीमा पछिल्लो समय संरक्षण र कडाइका साथ रेखदेख नहुँदा फूलजोर बाबासहित केही साझेदारी वनमा तस्करी बढेको छ। वन रक्षकको आँखा छलेर तस्करले सरकारी वनबाट काठ तस्करी गर्दा वन क्षेत्र उजाड बन्दै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। गोरखापत्रबाट