ललितपुर। ललितपुर जिल्लाको बागमती गाउँपालिका माझगाउँस्थित सारदा सदन माध्यमिक विद्यालयमा निर्माणाधीन भवन चार वर्षमा पनि पूरा हुन सकेको छैन। २०७५ असोज २० मा १८ महिनामा सक्ने गरी सम्झौता भएको भवनको काम चार वर्ष बितिसक्दा पनि पूरा हुन नसकेको हो।
वि.सं २०७२ सालको महाभूकम्पले क्षति ग्रस्त भएको विद्यालय भवन जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (सीएलपीआइयू) को मातहतमा निर्माण शुरु गरिएको थियो। निर्माणको ठेक्का भ्यालि कन्स्ट्रक्सनले पाएको थियो। १८ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएपनि निर्माण कम्पनीले विभिन्न कारण देखाइ हालसम्म काम पूरा गर्न सकेको छैन। दुई पटकसम्म थप गरिएको म्याद पनि गत असारमा सकिएको छ।
चार वर्षदेखि टिनको छाप्रोमा विद्यालय
विद्यालय रहेकै स्थानमा भवन पुनर्निर्माण हुने भएपछि पुराना संरचना भत्काएर टिनको छाप्रोबाट विद्यालय सञ्चालन गर्न थालियो। १८ महिनामा भवन बनिसक्ने अनुमानले तत्कालका लागि काम चलाउन बनाइएका टिनको छाप्रोमा जाडोयाममा अत्याधिक चिसो हुने र बर्खामा पानी पसेर पोखरी बन्ने हुँदा अध्ययन अध्यापनमा समस्या हुने गरेको विद्यालयका सहप्रध्यानाध्यापक राजु दर्लामी मगरले बताए। ‘जस्ताको पाता भित्र कक्षा र प्रशासन चलाएको ४ वर्ष भयो। अब जस्ताका पाता पनि मक्किन र कुहीन थालिसके । कुनै दिन ठूलो हावा चल्यो भने यो पनि उडाएर लैजान्छ’ सहप्रध्यानाध्यापक मगरले भने, ‘भवन निर्माण पूरा नहुँदा विद्यालय चलाउन निकै समस्या भएको छ। बर्खामा कक्षामा पानी चुहीने, पानी जम्ने, हिलो हुने र सँधै कुनै न कुनै विद्यार्थी चिप्लिएर चोट लाग्ने गरेको छ।’
टिनबाट पानी चुहिएर खर्बायाममा कक्षमा पोखरी जस्तै पानी जम्ने, पानी नजम्ने कोठामा पनि भुइँ ढलान नभएका कारण पानी परेको बेला हिलो हुने गरेको विद्यार्थीको गुनासो छ। प्रत्येक वर्ष कोही न कोही चिप्लिएर लडेर विद्यालयमै ठूलो दुर्घटना समेत हुने गरेको सारदा शिक्षा सदनका एक विद्यार्थीले बताए।
केही समयका लागि टिनको छाप्रोभित्र पढ्न पनि सहजै होला। नयाँ भवन बन्दै छ भनेपछि विद्यार्थी र शिक्षकहरुमा भएको उत्साहले पनि केही समय त समस्या कम महसुस गरायो होला। तर चार चार वर्षसम्म जाडोयामको टिनको चिसो र सिरेटो अनि बर्खाको पानी र हिलोलाई झेल्न भने यहाँका विद्यार्थी र शिक्षकलाई निकै गाह्रो भइसकेको छ। प्रत्येक दिन बच्चाहरु चिप्लिएर चोट लगाएर घर पुग्दा अभिभावक समेत वाक्क भइसकेका छन्। १८ महिनामा नै बनिसक्छ भनेर भएको संरचना पनि भत्काएर बनाउन थालिएको भवन वर्षौँ बित्यो तर पूरा भएन। अब भने विद्यार्थी, शिक्षक र अभिभावक पनि आक्रोशित बन्न थालिसकेका छन्।
निर्माण व्यवसायी सम्पर्कबिहीन
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर तामाङले निर्माण व्यवसायी दुई वर्षदेखि सम्पर्कबिहीन भएको आरोप लगाएका छन्। उनले सब कन्ट्याटरलाई काम जिम्मा दिएर आफू सम्पर्कबिहीन भएको र अहिले सब कन्ट्याक्टरले समेत भुक्तानी नपाएपछि काम रोकेर बसेको बताए। उनले भने, ‘ठेक्का पाएको निर्माण व्यवसायीले सबै भुक्तानी पाइसक्यो। उसले सब कन्ट्याक्टरलाई २ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी छ। भुक्तानी नपाएपछि सब कन्ट्याक्टरले पनि ६ महिनादेखि काम गरेको छैन।’
अध्यक्ष तामाङले निर्माण व्यवसायीले आफूहरुको फोन नउठाने, भेट्न जाँदा पनि भेट नहुने र काम गर्न पनि नआउने गरेको बताए। सब कन्ट्याक्टरको रुपमा काम गरिरहेको सुपेरियर निर्माण सेवाले आफूहरुले भ्याली कन्स्ट्रक्सनबाट २ करोड भुक्तानी लिन बाँकी रहेकोले काम अघि बढाउन नसकेको बताउँदै आएको छ।
ठेक्का तोड्ने चेतावनी
पटक पटक चेतावनी दिँदा पनि समयमा काम नसकेपछि सीएलपीआइयूले आफूहरु ठेक्का तोड्न बाध्य हुने बताएको छ। सीएलपीआइयूका इन्जिनियर अशोक अधिकारीले उक्त भवन निर्माणको कामलाई अब कसरी अगाडी बढाउने भन्नेबारेमा जाइका, नेपाल सरकार र परामर्शदाता बसेर छलफल गरेको जानकारी दिए। उनले भ्याली कन्स्ट्रक्सनले काम गर्ने विश्वसनीय वातावरण नभएमा ठेक्का तोडेर अघि बढ्नुपर्ने समेत बताए।
इन्जिनियर अधिकारीले भने, ‘यो जाइकाको सहयोगमा बनेको भवन हो। समयमा पूरा भएन भने जाइकाले सहयोग रकम दिन बन्द गर्छ। हामीले पटक पटक निर्माण व्यवसायीलाई यस बारे सचेत गराइसकेका छौँ। अन्तिम म्याद पनि असारमा सकिएको छ। अब के गर्ने भन्ने बारे हामी छलफलमा छौँ।’
उनले निर्माण कम्पनीले काम गरेको बिल पेस गरेजति भुक्तानी पनि दिइसकेको जानकारी दिए। उनले काम ढिलो गरे बापत कारबाही स्वरुप कटौती हुने रकम मात्र कटाएर बाँकी बिल आए अनुसारको भुक्तानी गरिसकेको बताएका छन्। निर्माण व्यवसायीले फेरि केही समयका लागि म्याद थपको माग गरेको जानकारी दिँदै उनले भने, ‘जाइकाको सहयोगमा भएको काममा सार्वजनिक खरिद नियमावलीमा भएको म्याद थप लगायतका नियम लागू हुँदैन। त्यसैले निर्माण व्यवसायीले काम गर्ने विश्वसनीयता देखिएमा एक पटक सोच्न सकिन्छ। तर अब पनि विश्वसनियता नदेखिए र काम गर्न नसक्नुको चित्त बुझ्दो कारण नआए हामी कारबाही प्रक्रियामा नै जान्छौँ।’
म्याद थप भए अब तीन महिनामा काम सक्छौँ : भ्याली कन्स्ट्रक्सन
भवन निर्माणको ठेक्का पाएको भ्याली कन्स्ट्रक्सनले ३० प्रतिशत काम मात्र बाँकी रहेको र म्याद थप भए तीन महिनामा पूरा गरेर हस्तान्तरण गर्ने जनाएको छ। भ्याली कन्स्ट्रक्सनका सञ्चालक रविन्द्र महर्जनले आफूले सीएलपीआइयूबाट भुक्तानी पाउन बाँकी रहेकाले सब कन्ट्याक्टरलाई पनि दिन बाँकी रहेको बताए।
उनले विद्यालय भवन निर्माण गर्ने स्थानमा सुरुङ भेटिएपछि स्थान परिवर्तन गरेर भवन निर्माण गर्नुपर्दा सुरु गर्नमा नै ढिला भएको बताए। उनले भने, ‘सुरुङ भेटिएकाले स्थान परिवर्तन गर्दा सुरु गर्न समय लाग्यो। त्यसपछि कोरोना भाइरसका कारण केही समय काम गर्ने वातावरण भएन। बर्खा लागेपछि बाटो बन्द हुने, बन्द नहुँदा पनि साना गाडी मात्र विद्यालयसम्म पुग्ने हुँदा वर्षको ६ महिना मात्र काम गर्न सक्ने भएकाले पनि काममा ढिलाइ भएको हो।’ महर्जनले सीएलपीआइयूबाट समयमा भुक्तानी नहुँदा पनि समयमा काम गर्न समस्या भएको बताएका छन्।
महर्जनले आफू निरन्तर सीएलपीआइयूसँग सम्पर्कमा रहेको भन्दै सम्पर्कबिहीन भन्ने कुरा गलत भएको खण्डन समेत गरेका छन्। उनले भने, ‘अफिस चलाएर बसेको छु, सबै काम गरिरहेकै छु, तपाइँको पनि फोन उठाएँ, गर्नुपर्ने काम र सम्पर्क गरेकै छु। विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासनसँग मेरो काम नै छैन त मैले किन सम्पर्क गर्नुपर्यो?’
उनले विद्यालय व्यवस्थापन समिति अध्यक्षले आफ्नो स्वार्थ पूरा नभएपछि रिसिबी साँधेको आरोप समेत लगाएका छन्। उनले भने, ‘सामाग्री ढुवानीको काम विद्यालय व्यवस्थापन समिति अध्यक्षबाट गर्दै आएको थिएँ। पछि अरुबाट गर्न थाले। त्यसपछि उनले निउ खोज्न थालेका छन्।’ विद्यालय व्यवस्थापन समिति अध्यक्षले आफूलाई म्याद थप गर्ने काम गर्दिने तर समितिलाई पैसा दिनुपर्ने माग गरेको आरोप समेत लगाए।
महर्जनले म्याद थपका लागि माग गरेको र थप भएपछि कम गरेर तीन महिनामा नै भवन हस्तान्तरण गर्ने दाबी गरे। उनले भने, ‘मैले काम नगर्ने भए अन्य तीन वटा विद्यालयको पनि भवन अलपत्र पार्ने थिएँ होला। तीनीहरु पहिले नै बनाइसकेर हस्तान्तरण गरिसकेको छु। यसमा मात्र विभिन्न समस्याका कारण ढिलाइ भएको हो।’
२०७५ असोज २० मा ललितपुरका ४ वटा विद्यालयको भवन १४ करोड २४ लाखमा निर्माण गर्ने ठेक्का भ्याली कन्स्ट्रक्सनले पाएको थियो। त्यसमध्ये श्री मदन स्मारक माध्यमिक विद्यालय पुल्चोकको काम २०७६ चैत ३ गते, श्री फुल्चोकी माध्यमिक विद्यालय थाइबाको भवन २०७७ चैत २० र श्री प्रगति शिक्षा सदन माध्यमिक विद्यालय कुपण्डोलको भवन २०७७ पुस ७ गते निर्माण पूरा गरी हस्तान्तरण गरिसकेको छ। सारदा शिक्षा सदनको मात्र काम ४ वर्षदेखि पूरा हुन नसक्दा समस्या भएको हो।
यहाँ काम ढिलाइ हुनुमा एक पक्षले अर्काे पक्षलाइ आरोपप्रत्याराेप लगाएकाे देखिन्छ। काम जसकाे कारण ढिलाइ भएकाे भएपनि त्यसकाे भागेदार हामीले भन्ने गरेका भाेलिका कर्णाधार कलिला बालबालिका छन्। त्यसैले निर्माण व्यवसायीका कारण ढिलाइ भएकाे भए कारबाही गर्ने, आयाेजनाले काममा हुने कुनै पनि समस्यालाइ सहजिकरण गरेर काम गर्ने सहज वातावरण तयार गर्ने गर्नुपर्ने हाे। तर यहाँ सबै निकाय एक अर्कालाइ दाेषी देखाउँदै वर्षाैँसम्म टिनकाे छाप्राेमा पानीसँग पाैडीखेल्दै बालबालिका पढेकाे पनि रमिता सम्झेर हेरिरहेकाे देखिन्छ।