काठमाडौं। ग्वार्खो ‘फ्लाई ओभर’ निर्माणको काम आगामी भदौदेखि शुरूआत गरिने भएको छ। सरकारको लगानीमा पहिलोपटक ‘फ्लाई ओभर’ बनाउन लागिएको हो।
वैदेशिक लगानीमा यसअघि नागढुंगा सुरुङमार्ग आयोजनाअन्तर्गत ‘फ्लाई ओभर’ निर्माण अघि बढाइएको थियो। गत आवमा नै ठेक्का भइसकेको निर्माण कम्पनी आफैंले ‘डिजाइन’ गरेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ।
निर्माण कम्पनीले तयार गरेको ‘डिजाइन’ प्रतिक्रियाका लागि सरकारलाई पेश गरिएको बताइएको छ। सरकारले दिएको सुझाव समेटेर पुनः डिजाइन आउने र यसपछि निर्माणमा जाने भएको छ।
डिजाइन स्वीकृत भएपछि निर्माणमा जाने र त्यसको डेढ वर्षमा सम्पन्न गरिने छ। यसको अवधि २ वर्ष रहेकोमा ४ महिना सकिएर २० महिना बाँकी छ।
डिजाइन आएपछि केन्द्रले २१ दिनभित्रमा डिजाइन स्वीकार गर्नुपर्ने बताइएको छ। विभागीय प्रक्रिया पूरा गरेर केन्द्रले साउनको अन्तिमसम्ममा स्वीकृति दिनेछ। भदौबाट नै कम्पनीले भौतिक काम शुरू गर्न सक्ने बताइएको छ।
‘फ्लाई ओभर’ लम्बाइ, चौडाइ, उचाइ लगायतका विषयमा यसअघि नै केन्द्रले खाका बनाएको छ। सामान्यतया ती कुरा परिवर्तन नभएर भित्रको केही कुराजस्तै डन्डी कति हाल्ने, कंक्रिट कति हाल्ने भन्ने कुरा डिजाइनमा उल्लेख हुने आयोजनाले बताएको छ।
सरकारले चालू आवको नीति तथा कार्यक्रममा सातदोबाटो र एकान्तकुनामा पनि ‘फ्लाई ओभर’ निर्माण गर्ने उल्लेख गरेको छ। ३ वटै ‘फ्लाई ओभर’ निर्माणका लागि १ अर्ब ३४ करोड चाहिन्छ। अर्थ मन्त्रालयबाट त्यो रकमका लागि सहमति आएपछि ठेक्का प्रक्रियामा जान सकिने छ।
चालू आवको बजेटमा तीनै वटाका लागि २५ करोड रुपैयाँ छुट्याइएको । साउन अन्तिमसम्ममा बहुवर्षीय ठेक्का लागि सहमति आएपछि ठेक्कामा जान सकिने छ। सरकार आफैंले ईपीसी (इन्जिनीयरिङ प्रोक्युअमन्ट् एण्ड कन्सट्रक्सन) सम्झौता गरी पहिलो ‘फ्लाई ओभर’ निर्माण गर्न लागेको हो। यसमा ‘डिजाइन एण्ड बिल्ड’ सम्झौताजस्तै डिजाइनको काम पनि निर्माण कम्पनीले नै गर्ने बताइएको छ।
यो पनिः
नेपाली आफैले निर्माण गर्न लागेको ग्वार्कोस्थित ‘फ्लाई ओभर’ निर्माणको प्रक्रिया अघि बढ्दै