खोटाङ। सरकारको सय गन्तव्यको सूचीमा परेको मुन्द्मु ट्रेल निर्माण एक वर्षदेखि अलपत्र छ। स्थानीय, प्रदेश र स्विस सरकारको साझेदारीमा निर्माणाधीन पदमार्गको काम अघिल्लो असारदेखि रोकिएको हो।
प्रदेश सरकारले परियोजना स्वीकृतिमा ढिलाइ गर्दा गत वर्ष स्विस सरकार निर्माणमा सहभागी हुन नपाउनु र स्थानीय तहले पनि बजेट विनियोजन नगरेपछि यसको भविष्य अनिश्चित बनेको हो।
यो वर्ष भने उक्त ट्रेलका लागि ५० लाख र पदमार्गमा आधारित पर्यटन विकास परियोजनामा एक करोड विनियोजन गरिएको प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री रामकुमार राईले बताए। गत आर्थिक वर्ष पनि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको थियो।
खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुलाई आधार बनाएर निर्माण थालिएको पदमार्गको काम करिब ८८ किलोमिटरमध्ये ६२ किलोमिटर सकिएको छ। यसमध्ये खोटाङको केपिलासगढी, भोजपुरको टेम्कै मैयु र सालला सिलिचुङ गाउँपालिकामा काम अपूरै छ। राजनीतिक परिस्थितिले बेलामा संझौता हुन नसक्दा काम हुन नसकेको केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईले बताए । उनले भने, ‘यो वर्ष काम सुरु हुन्छ।’
उक्त पालिकामा पर्ने दुई करोड लागतको १४ किलोमिटरमध्ये १५ प्रतिशतमा मात्र काम सकिएको छ। भोजपुरको टेम्कै मैयु गाउँपालिकाको ३१ किलोमिटर पदमार्ग बनाउँनु पर्नेमा करिब १९ किलोमिटर मात्र बनेको छ।
यो पदमार्ग खण्डका लागि विनियोजित ३ करोड ५० लाखमध्ये ३ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ। भोजपुरकै सालपा सिलिचुङ गाउँपालिकामा पर्ने १२ किलोमिटरमध्ये ८ किलोमिटर पदमार्गको काम सकिएको छ । यहाँ विनियोजन भएको २ करोड ८१ लाखमध्ये २ करोड २ लाख खर्च भएको छ ।
खोटाङको साकेला गाउँपालिकामा पर्ने १ करोड १४ लाखको साढे दश किलोमिटर पदमार्ग सकिएको छ। भोजपुरको भोजपुर नगरपालिकामा साढे १२ किलोमिटर पदमार्ग बनेको छ। कान्तिपुरबाट