काठमाडौं। वन तथा वातावरण मन्त्री प्रदीप यादवले भरतपुर महानगरले लिएको विकासको तिव्रता अरु पालिकाले पनि अनुसरण गर्नुपर्ने बताएका छन्। भरतपुर महानगरपालिकाको कार्यालयमा महानगरकी प्रमुख रेणु दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्लगायतसँगको छलफलमा मन्त्री यादवले यस्तो बताएका हुन्।
पछिल्लो पाँच वर्षमा भरतपुरमा अप्रत्यासित ढङ्गले भएको विकासले सबै आश्चर्यचकित भएको बताउँदै मन्त्री यादवले यसबाट अरु स्थानीय तहले पनि पाठ सिक्नुपर्ने बताए। महिला प्रमुख भएर उदाहरणीय एवं नमुना काम गरेकै परिणामस्वरुप दोस्रो पटक पनि अत्यधिक मतका साथ भरतपुरका जनताले दाहाललाई जिताएको मन्त्री यादवको भनाइ छ।
उनले भने, ‘उनी मेयर बन्नुको पछाडी उनका बुबा प्रचण्डजीको कुनै आशीर्वाद थिएन, उनको निडर स्वभाव, दीर्घ इच्छा शक्ति र महानगरको विकासका लागि उनले देखेको सपना र डिजाइनका कारण महानगरबासीले उनलाई जिताएका हुन्।’ मन्त्री यादवले थपे, ‘रेणुजीले गरेका कामले उनलाई अब मेयर मात्रै हैन प्रधानमन्त्री पनि बनाउने छ भन्नेमा म विश्वस्त छु।’
यसअघि माडी र हुलाकी सडकको अनुगमन गरेको स्मरण गर्दै मन्त्री यादवले हुलाकी सडक विस्तारमा वनबाट भएका अवरोधलाई हटाएर चितवन र पर्सालाई जोड्ने हुलाकी सडक निर्माणको गतिलाई तिव्रता दिनुपर्ने बताए। वन मन्त्रालयबाट अनुमती नपाएर अगाडि बढ्न नसकेका सम्पूर्ण काम आवश्यक अध्ययन र प्रक्रियापछि फास्टट्र्याकलाई अघि बढाउँदै विकास निर्माणको काममा भएका बाधाहरूको समाधान गर्न मन्त्रालयका कर्मचारीहरुलाई उनले निर्देशन दिए।
हुलाकी सडक निर्माण भएसँगै पर्सा राष्ट्रिय निकुञ्ज भएर ठोरीसम्म पुग्ने पर्यटकहरुको संख्यामा बृद्धि हुने र यसले पर्यटन व्यवसाय गर्नेहरुलाई रोजगारीको सृजना गर्ने मन्त्री यादवको विश्वास छ।