काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती नगर्न सुझाव दिएका छन्। जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा सरकारी कार्यालयका प्रमुखहरुसँग भएको छलफलमा नेता पौडेलले विकास निर्माणका कुनै पनि काममा ढिलाइ नगर्न सुझाव दिएका हुन्।
उनले विकास निर्माणका काममा ढिलासुस्ती गर्नेलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने समेत बताए। उनले कानुन बमोजिम साउन मसान्तभित्र सबै विकास आयोजनाको ठेक्का सम्झौता भइसक्नुपर्नेमा जोड दिएका छन्।
नेता पौडेलले विकासका कामलाई गुणस्तरीय बनाउन सम्बन्धित कार्यालयको तर्फबाट पटक–पटक अनुगमन गर्न आग्रह गरे । तनहुँको विकासका लागि बजेटको कुनै कमी नहुने बताउँदै पौडेलले जिल्लाको विकासको जिम्मा आफूले लिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
कार्यक्रममा जिल्लास्थित पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सिँचाइ विकास कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुखहरुले आर्थिक वर्ष ०७८/०७९ मा सम्पन्न भएका कार्यक्रमबारे प्रस्तुती राखेका थिए ।
उक्त कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललगायतको सहभागिता थियो ।