काठमाडौं। स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापनाका लागि जग्गा अधिग्रहण गरिएको ४० वर्षपछि धनकुटाको अमलेटारमा निर्माणाधीन रहेको औद्योगिक ग्राममा निर्माण भएका २७ वटा व्यापारिक भवन उद्योग सञ्चालनका लागि उद्यमीले चासो नदेखाएपछि अलपत्र परेका छन्। ग्रामसम्म पुुग्ने सडक र आवश्यक पूर्वाधार तयार भएको वर्षौं भइसक्दा पनि उद्योग भने सञ्चालनमा आउन नसकेका हुन्।
धनकुटाको धनकुटा नगरपालिका–६ आत्मारामा रहेको अमलेटारमा औद्योगिक ग्राम बनाउन २०३९ सालमै ६० रोपनी जग्गा अधिग्रहण गरिएको थियो। त्यसयता पटकपटक गरी यस ठाउँमा सडक र भवन पूर्वाधार निर्माणका लागि १७ करोड रुपैयाँ खर्च भइसकेको छ। ५२ मध्ये २७ वटा व्यापारिक भवन तीन वर्षअघि नै तयार भइसकेका छन् भने बाँकी निर्माणाधीन छन्।
तयार पारिएका भवनमा उद्योग सञ्चालन गर्दै जाने भए पनि उद्योग सञ्चालनमा अझै नआएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख ईश्वर थापाले बताए। ग्राममा उद्योग सञ्चालनका लागि घरेलु कार्यालयले पटक–पटक मागेको प्रस्तावमा जम्मा १३ जना उद्यमीको निवेदन परेको छ। तर उद्योग सञ्चालनका लागि सम्झौता गर्न कोही नआएको प्रमुख थापाको भनाइ छ। चालू आर्थिक वर्षमा लघु उद्यमीहरुलाई प्रोत्साहन गर्न बजेट माग गरिएको र बजेट प्राप्त भए उद्देश्यअनुसार काम हुने कार्यालयको भनाइ छ।
उद्यमीहरु भने खानेपानी, परिवार बस्नका लागि उपयुक्त वातावरणका साथै बजारको समस्याले गर्दा उद्योगिक ग्राममा उद्यम सञ्चालनका लागि समस्या भएको बताउँछन्। उद्यमी श्रीराम रायामाझीले औद्योगिक ग्रामका लागि भवन पूर्वाधार बने पनि कच्चा पदार्थ आयात, तयारी मालवस्तु निर्यात, लगानी, उत्पादन, रोजगारी, सम्भावित बजार व्यवस्थाजस्ता औद्योगिक सुविधा र वातावरण तयार नभएकोले उद्योगीहरुले चासो नदेखाएको बताए।
त्यस्तै, घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले सम्बन्धित निकायको ध्यान ग्राम सञ्चालन गर्ने कुरामा भए साना उद्योग एकत्रित गरी सञ्चालन गर्न सकिने बताए। अनुत्पादक भई बसेको औद्योगिक ग्राममा फस्टाउन नसकेका धनकुटालगायत पहाडी जिल्लाका घरेलु उद्योगको उचित प्रवद्र्धन हुन सक्ने प्रशस्त सम्भावना रहेको उनको भनाइ छ। आजको कारोबार दैनिकबाट