काठमाडौं। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन काठमाडौं–तराई–मधेस दु्रतमार्ग समयमै सक्न निर्देशन दिएको छ। समितिले सोमबार निर्धारित लक्ष्यभन्दा थोरै मात्र काम भएको भन्दै आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी कार्ययोजना दिन सरकारलाई निर्देशन दिएको हो ।
आर्थिक वर्ष २०७८-०७९ सम्ममा यो आयोजनाको भौतिक प्रगति २१.१८ प्रतिशत मात्र भएको छ। आयोजनाको पूर्वनिर्धारित कार्यतालिकाअनुसार हालसम्म ठेक्का व्यवस्थापनका कामहरू हुन सकेका छैनन्। आयोजना निर्धारित समयमा सम्पन्न हुने विषयमा विश्वस्त हुने अवस्था नदेखिएपछि समितिका सभापति कल्याणी खड्काले निर्धारित समयमा गुणस्तरीय रूपमा काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
उनले भने– ‘आयोजना निर्माणका लागि विश्वसनीय आधारसहितको आर्थिक वर्ष २०७९/०८० को ठोस कार्यतालिका बनाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएका छौं साथै कार्यतालिका यथाशीघ्र समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिएका छौं ।’
आयोजनाको तेस्रो पक्षबाट हुने अनुगमन कसरी भइरहेको छ भन्ने सन्दर्भमा पनि १५ दिनभित्र जानकारी उपलब्ध गराउन समितिले निर्देशन दिएको छ ।सिंहदरबारमा बसेको समितिको बैठकमा रक्षा मन्त्रालयका सचिव, काठमाडौं, तराईं–मधेस द्रुतमार्ग सडक आयोजनाको नेपाली सेनाका आयोजना प्रमुख तथा सम्बन्धित पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
विसं २०८१ मंसिर महिनासम्म सम्पन्न गर्नेगरी नेपाली सेनाले विसं २०७४ मा ७२ दशमलव ५ किलोमिटर लामो द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको थियो ।नेपाली सेनाले विसं २०७६ भदौ १ गते यसको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको थियो । द्रुतमार्गमा ८७ पुल र तीनवटा सुरुङमार्ग समेत निर्माण हुनेछ ।कार्ययोजना ल्याउन समितिले निर्देशन दिए पनि निर्धारित समयमै आयोजना सम्पन्न नहुने निष्कर्ष समितिले निकालेको छ ।
द्रुतमार्ग निर्माणअन्तर्गत अन्य ठाउँमा ट्रयाक खोल्ने काम भए पनि खोकना क्षेत्रमा जग्गा अधिग्रहणको विषयलाई लिएर स्थानीयले अवरोध गरेको कारण द्रुतमार्गको काम अघि बढ्न सकेको छैन ।