कास्की । गण्डकीका अधिकांश पालिकामा प्रदेश सरकारका नगण्य योजना समेटिँदा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काको वडामा भने चालु आर्थिक वर्षका लागि ३० करोडका योजना परेका छन् । पोखरा महानगरपालिका–१६ घर भएका मन्त्री खड्काको वडामा भौतिक पूर्वाधारलगायत विभिन्न मन्त्रालयबाट कार्यान्वयन हुने गरी ७८ वटा योजनामा रकम विनियोजन गरिएको हो ।
प्रदेशको अर्थ मन्त्रालयबाट जारी रातो किताबका अनुसार पोखरा–१६ मा २९ करोड ४३ लाखका योजना समेटिएका छन् । गण्डकी प्रदेश सरकारको कुल बजेटको ३६ दशमलव ३४ प्रतिशत रकम खड्काकै मन्त्रालयमार्फत खर्च हुन्छ । १३ अर्ब ५ करोड ८ लाख रुपैयाँ बजेट रहेको उक्त मन्त्रालयको चालुतर्फ ३८ करोड ८६ लाख रुपैयाँ छ भने बाँकी पुँजीगत हो । प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री खड्काले आफ्नै मन्त्रालयको चालु बजेट हाराहारीका योजना पोखरा–१६ मा पारेका हुन् ।
वडाभित्र समेटिएका योजना भने ५ लाखदेखि ४ करोड रुपैयाँसम्मका छन् । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट कार्यान्वयन हुने गरी ३ वटा सडक पुल, २ वटा झोलुंगे पुल र सडक निर्माण, स्तरोन्नति, मर्मतका योजना, सामुदायिक भवन निर्माणका योजना उक्त वडामा पारिएका छन् । यसका लागि मात्रै ६ करोड ३४ लाख रुपैयाँ विनियोजन गरिएको छ । उनकै मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कास्कीमार्फत कार्यान्वयन हुने गरी थप सडक निर्माण तथा स्तरोन्नतिका योजना, फुट ट्र्याक निर्माण, सडक मर्मत, ढल निर्माण, सडक पुललगायतका योजनामा बजेट छुट्याइएको छ । केआईसिंह पुलदेखि महेन्द्र गुफासम्मको फुट ट्र्याक निर्माणका लागि मात्रै ४ करोड छुट्याइएको छ ।
पोखरा–१६ मै पर्ने मदन–आश्रित मार्ग निर्माणका लागि ५० लाख, गैह्राबारी मार्गलाई २५ लाख, सिमलखोरिया जाने सडकलाई १५ लाख, मूल छर्ने सुडाको मुख सडक मर्मतका लागि १० लाख, शान्तिटोल सुकाले सडक मर्मतका लागि १० लाख, महानगरीय वडा सडक सञ्जाल निर्माणका लागि ५० लाख, छहरेपानी मुडली भित्री सडक निर्माणलाई १० लाख बजेट राखिएको छ । यस्तै, ढिकिडाँडा हरिपाउँ सडक स्तरोन्नतिका लागि २५ लाख, घार्मीखोलाको उत्तरतर्फ सडक स्तरोन्नतिका लागि १० लाख, उज्यालो मार्ग सडक स्तरोन्नतिलाई १० लाख, गर्लाङ हरिपाउँ सडकका लागि ३० लाख, घुरकुना दाग्द्रे अर्मला सडकमा ४० लाख, नेपानेको बारी, झाँक्रीको थान पाखो हुँदै सोतो सडकका लागि ३० लाख, जुम्लेटी जाने सडकमा ८० लाख, भित्तेबजार सडक स्तरोन्नतिका लागि ७५ लाख र लामोस्वाँरा ओडारे सडकका लागि १० लाख छुट्याइएको छ । यसैगरी, मातृशिशु सिम्लेकुना हरिहर आश्रम मार्गका लागि ५० लाख, मौरीबारी बसपार्क तथा बाटो ढलान माझथरका लागि २० लाख बजेट राखिएको छ ।
मन्त्री खड्काकै मन्त्रालय मातहतको सहरी विकास तथा भवन कार्यालय कास्कीबाट कार्यान्वयन हुने गरी एउटै योजनाका लागि प्रदेश र समानीकरण गरी दुई शीर्षकमा बजेट विनियोजन गरिएको छ । मन्त्री खड्काले महेन्द्र गुफा बृहत् विकास परियोजना बाटुलेचौरका लागि प्रदेशतर्फबाट ३ करोड ६५ लाख ५० हजार रुपैयाँ विनियोजन गराएका छन् भने सोही परियोजनाका लागि समानीकरणतर्फबाट १ करोड ३४ लाख ५० हजार छुट्याइएको छ । यस्तै, अर्मला प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणलाई १० लाख विनियोजन गरिएको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गत कार्यान्वयन हुने गरी कुरगाउँ खानेपानी योजनाका लागि १० लाख, देउराली खानेपानी योजनाका लागि ६ लाख, अर्मलाकोट न्याले डिहिकुरा खानेपानीका लागि १० लाख, मातृशिशु अस्पताल, चण्डीका आधारभूत विद्यालयको खानेपानीका लागि २० लाख रकम छुट्याइएको छ । पर्यटन कार्यालय पोखराबाट कार्यान्वयन हुने गरी कुमारी गुफा अर्मला पर्यटकीय पूर्वाधार निर्माणका लागि १० लाख छुट्याइएको छ । त्यसैगरी, गर्ल्याङ हरिपाउँ झुर्याङकोट पदमार्ग निर्माणका लागि घरेलु तथा साना उद्योग कार्यालयमार्फत ५ लाख रुपैयाँ छुट्याइएको छ । भू–तथा जलाधार व्यवस्थापन कार्यालयमार्फत घार्मी पहिलो तटबन्धनका लागि ७ लाख बजेट राखिएको छ ।
जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्कीमार्फत मजुवा ठूलीबेंसी सिँचाइ कुलोको संरचना निर्माणका लागि १० लाख, सेती नदी तटबन्धनका लागि १० लाख, सुन्दर वन वाटिका पहिरो नियन्त्रणका लागि ६ लाख, गैरी भलाम भलामखोला तटबन्धनलाई ६ लाख, सिँचाइ कुलो मजुवा ठूलबबेंसीका लागि ६ लाख, जोगिमणि घुरकुना पुलनजिक तटबन्धनका लागि १० लाख, खहरेखोला र्याले नियन्त्रणलाई १० लाख, पिप्ले बगर सिँचाइ नहर निर्माणलाई ६ लाख छुट्याइएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत नै कार्यान्वयन हुने गरी अर्मला क्षेत्र संरक्षण तथा कालीखोला तटबन्धनका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको रातो किताबमा उल्लेख छ ।
सामाजिक विकास कार्यालयमार्फत मदन–आश्रित पार्क पूर्वाधार निर्माणलाई २० लाख, अम्बिका मन्दिर मर्मतका लागि ५ लाख, बडहरबोट किरियापुत्री भवनका लागि ८ लाख, जोगिमणि तमु समाज कार्जे स्थल निर्माणका लागि ५ लाख, नवआदर्श सामुदायिक विकास लामाचौरको पूर्वाधार निर्माणका लागि १० लाख, अर्मला एकता समाज भवन निर्माणका लागि १० लाख, गुरुङ समाज पूर्वाधार निर्माण शान्तिघाटलाई १० लाख, हरिपाउँ ढिकीडाँडा सहरी स्मृतिपार्कलाई १५ लाख, इन्द्र राज्यलक्ष्मी माविको प्यारापिटसहितको कार्यालय भवन निर्माणका लागि ३० लाख, विन्ध्यावासिनी क्याम्पस बाटुलेचौरको कम्पाउन्ड निर्माणका लागि १० लाख र तामाङ समाज सामुदायिक भवन महेन्द्र गुफाका लागि १० लाख रुपैयाँ विनियोजन गराउन मन्त्री खड्का सफल भएका छन् । यस्तै, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयबाट कार्यान्वयन हुने गरी शिव मन्दिर दीप शान्ति घाटका लागि ८ लाख, पितृ उदार भवन गैह्राकोलाका लागि ८ लाख, जाल्पादेवी आमा समूह भवन निर्माणका लागि ८ लाख र परियार किरियापुत्री ठाँटीघाटलाई १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रदेश सरकारले असार १ मा सार्वजनिक गरेको बजेटमाथि असन्तुष्टि चुलिएपछि मात्र मिलाउने क्रममा मन्त्री खड्काले ७ करोड ४५ लाखका २३ वटा योजना आफ्नो वडामा थपेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार आवश्यकता र न्यायोचित विकासका लागि भन्दा पनि मन्त्री खड्काको बल र पहुँचकै आधारमा योजना पारेका हुन् । स्रोतले भन्यो, ‘मनाङमा टेको लगाएको काठको पुलमा गाडी गुडिरहँदा महानगरपालिकाको एउटा वडाका लागि विभिन्न नाम गरेर टुक्रे योजना वितरण गरिएको छ । ठूला योजना भए पनि विकास हुन्छ भनेर आस गर्न मिल्थ्यो । साविकको पोखरा २८, कास्की, हालको पोखरा १६, बाटुलेचौरलगायत नामै उल्लेख नभएका योजना मन्त्रीज्यूले समेट्नुभएको छ ।’
भौतिकमन्त्री खड्काको वडामा जसरी बजेट मुख्यमन्त्रीको वडामा समेत परेको छैन । अन्य मन्त्रीकामा त्यति हुने कुरै भएन । मन्त्री खड्काको वडामा सिंगो पालिकालाई जानेभन्दा बढी बजेट राखिएको भन्दै सत्ता र विपक्षी दुवैले आलोचना गरिरहेका छन् । गण्डकीको प्रमुख प्रतिपक्ष दल एमालेकी सचेतक सावित्री रानाले प्रदेशसभाको वैठकमा नै भौतिक मन्त्रीकै वडामा करोडौंका योजना पर्दा अन्य सांसदका वडामा न्यून बजेटसमेत नपारिएको टिप्पणी गरेकी थिइन् । ‘भौतिकमन्त्रीले आफ्नो वडालाई ठूलो रकम राखी अन्य पालिका र वडालाई विभेद गर्नुभएको छ,’ उनले भनिन् ।
मन्त्री खड्का गएको आर्थिक वर्षमा पनि करोडौं बजेट मनपरी तरिकाले रकमान्तर गरी आफ्नो वडामा लगेको भन्दै आलोचित बनेका थिए । मन्त्री खड्काले राजनीतिक चरित्र हत्या गर्न बढी बजेट वडामा लगेको आरोप आफूमाथि लगाइएको बताए । ‘मेरो मन्त्रालयबाट २ करोड ८९ लाख रकम परेको छ,’ उनले भने, ‘यसभन्दा बाहेक सांसदको हैसियतले २ करोड २० लाख परेको छ । पहिलाको सरकार र संघबाट केही बजेट पर्यो होला । ५ करोड ९ लाख बजेटबाहेक थप राखेको हो भन्ने कसैले प्रमाणित गर्छ भने राजनीतिबाटै संन्यास लिन्छु ।’
मन्त्री खड्का कांग्रेसबाट समानुपातिक प्रदेशसभा सदस्य हुन् । अखण्ड नेपाल पार्टी गठन गरी अध्यक्ष भएका खड्का संघीय सरकारको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत भइसकेका हुन् । क्षेत्री समाजको संस्थापक महासचिव खड्का कांग्रेसमा प्रवेश गरेपछि सभापति शेरबहादुर देउवाले आमन्त्रित केन्द्रीय सदस्य बनाएका थिए । कान्तिपुरबाट