काठमाडौं। लामाबगर सुरुङमार्ग निजी क्षेत्रआफैले निर्माण गरिरहेको छ। सरकारले निर्माणमा ढिला गर्ने भएपछि निजी क्षेत्रआफैले सुरुङमार्ग निर्माण गरेको हो।
निजी क्षेत्रले निर्माण गरिरहेको लामाबगर सुरुङमार्गको काम आधाभन्दा बढी सम्पन्न भइसकेको बताइएको छ। दोलखाको विगू गाउँपालिका–१ लामाबगरमा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध क्षेत्रका दायाँतर्फको कठिन भीरमा बाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि सुरुङमार्ग निर्माण सुरु गरेको हो।
११ सय मिटर लम्बाइको सी आधारमा निर्माण थालिएको ६ मिटर उचाइ र सात मिटर सुरुङमार्गको अहिलेसम्म ६ सय मिटर खनिएको एम दुगड् ग्रुपले जानकारी दिएको छ। ब्रुमरमार्फत सुरुङ खन्ने काम जारी छ। यही गतिमा काम भए अबको तीन महिनामा सुरुङ खुल्ने छ। एमभी दुगड् ग्रुपले बनाउन प्रस्ताव गरेको लप्चीखोला जलविद्युत आयोजनाले सुरुङमार्ग निर्माण सुरु गरेको हो।
एमभी दुगड्ले लप्चीखोलामा १६० मेगावाट क्षमताको आयोजना निर्माणका लागि तयारी सुरु गरेको छ। लामाबगरबाट १० किलोमिटर उत्तरमा रहेको आयोजना निर्माणका लागि पहुँचमार्गको रूपमा यही सुरुङमार्ग आवश्यक भएकाले अहिले आयोजना आफैंले सुरुङमार्गको काम सुरु गरेको हो।
यही आयोजनाले पहुँचमार्ग निर्माणका लागि तीनवटा स्काभेटर हेलिकप्टरमार्फत उडाएर आयोजनास्थल लुम्नाङ पुर्याएको छ। आयोजनाको बाँधस्थलदेखि हेडवक्र्ससम्मको नौ किलोमिटर ट्रयाक खोलेको छ। त्यसका लागि तेल पनि हेलिकप्टरमार्फत नै ढुवानी गरेको हो। दुईवटा स्काभेटर लामाबगरको माथिल्लो तामाकोसीको बाँधभन्दा माथि पुर्याइसकेको छ। त्यहाँ पनि सडक ट्रयाक खोल्न थालेको छ।
तर मुखैमा सुरुङमार्ग परेकाले बोक्न पनि कठिन भीरको बाटो भएकाले कामले आयोजनाको कामले तीव्रता पाउन सकेको छैन। आउँदो बर्खासम्म सुरुङमार्ग छेडियो भने वन मन्त्रालयले रुख काट्ने अनुमति दिनासाथ आयोजनाको पूर्वाधारको काम सुरु गर्ने तयारी छ। १० वर्षदेखि सडक विभागले लामाबगर चीन बोर्डर जोड्ने सडकका लागि बजेट विनियोजन गरे तापनि तीन किलोमिटर ट्रयाकमात्र खोलेको छ। सुरुङमार्ग तयार भएपछि थप ३० किलोमिटर सडक तयार हुँदा चीन, नेपाल र भारत जोड्ने त्रिदेशीय राजमार्ग तयार हुनेछ।
लामाबगरभन्दा माथि दुगड्को लप्चीखोलासहित सानिमा समूहको ५६ मेगावाटको जुमखोला, इनर्जी भेन्चरको ५२ मेगावाटको माथिल्लो लाप्चेखोला, अर्को ४० मेगावाट र अपर तामाकोसीकै रोल्वालिङ डाइभर्सनबाट आउने २२ मेगावाटको आयोजना छ। पहुँचमार्गकै कारण सबै आयोजनाले पूर्वाधारको काम सुरु गर्न सकेका छैनन्।
५२ मेगावाटको माथिल्लो लाप्चेखोलाको र विद्युत प्राधिकरणसँगको विद्युत खरिद सम्झौता भएको समेत पाँच वर्ष पुगिसकेको छ। निजी क्षेत्र आफैंले सुरुङमार्गको काम सुरु गरेपछि ६ महिना सरकारी क्षेत्रबाटै काम रोकिएको थियो।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले भूकम्पपछि सडक भत्केपछि काब्रे भीरमा ३४० मिटर लम्बाइको सुरुङ पनि यही डिजाइनमा बनाएको छ। यसलाई पनि विस्तार गर्नसक्ने आयोजनाले बताएको छ। लप्चीखोला निजी क्षेत्रले बनाएको सबैभन्दा ठूलो आयोजना हो।
यो पनिः
ठेकेदारले थाले सुरुङमार्ग डिजाइनको काम, आगामी फागुनदेखि निर्माण सुरु हुँदै