काठमाडौं। संसदीय अर्थ समितिका सभापति कृष्ण दाहालले नेपालमा ठुला आयोजनाहरुको प्रगति एकदमै न्यून रहेको बताएका छन्। तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको पूर्वाधार विकासको अवस्था र चुनौतीहरु विषयक कार्यक्रममा बोल्दै सभापति दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति न्यून रहेको बताएका हुन्।
उनले भने, ‘चालु अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरु जसको ठेक्कापट्टा पनि भईसकेका छन् तर ती आयोजनाहरुको प्रगति एकदमै न्यून रहेको छ ।’
सभापति दाहालले बैशाखमा नयाँ आयोजनाहरु बन्छन्, असारमा पैसा जान्छ र असारभरीमै आयोजना सकिन्छ, यो कसरी सम्भव छ ? भनेर प्रश्न समेत गरे।
उनले पूर्वाधार क्षेत्रमा आर्थिक अपारदर्शिता बढेको प्रति इंगित गर्दै भने, ‘सरकारी भुक्तानी प्रक्रिया नै अपारदर्शी छ । लिने र दिनेको बीचमा भेट नहुने व्यवस्था गर्नुपर्छ । डिजिटल सिस्टमबाट भुक्तानीको प्रबन्ध मिलाउनुपर्दछ ।’
मुलुक संघीय प्रणालीमा गईसकेपछि केही अन्यौलताहरु उत्पन्न भएको जिकिर गर्दै उनले भने संविधानले तीन तहको सरकारहरु गठन गरेर केन्द्रिकृत भएको कामहरु बाँडफाँड गरेको तर त्यसमा प्रभावकारिता नदेखिएको बताए। उनले केन्द्रले दिएको दायित्व प्रदेश र स्थानीय तहले लिन नचाहेको र त्यो केन्द्रमै फर्किएको समेत बताए।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्र नै भएको बताए । उनले नेपालको अर्थतन्त्र निर्वाहमुखी कृषिमा निर्धारित अर्थतन्त्र धराशयी हुने अवस्था नभएको भएपनि खतराबाट कसरी बच्ने ? भन्ने विषयमा सचेत हुनुपर्नेमा जोड दिए ।
उनले गौरवका आयोजना बनाउँदा मुलुकको जिडिपीमा ठुलो योगदान पुग्ने बताए । उनले भने, ‘सुनकोशी डाइभर्सन बनाउँदा यसले तराईको १ लाख ८० हजार भन्दा बढी विघा जमिन सिचाईं गर्न सक्दछौँ । यसले खाद्यान्नमा आत्मनिर्भर बन्न सक्छौं । तर, यो आयोजना जम्मा ५१ देखि ५२ अर्बमा सम्पन्न हुन्छ । त्यसैले तेलमा भईरहेको खर्च कटौती गर्नतर्फ हामी लाग्नुपर्छ।’
खरिद ऐन र ठेक्का प्रक्रियालाई सच्चाएर पुँजीगत खर्च बढाउन र समयमै खर्च बढाउन मेकानिजम बनाउने कार्यमा राष्ट्रिय योजना आयोगले प्रयास गरिरहेको जानकारी गराए।
कार्यक्रममा सभापति तथा नेपाल पत्रकार महासंघका कार्यवहाक महासचिव गोविन्द प्रसाद चौलागाईंले भौतिक पूर्वाधार मन्त्रालयमा सचिव फेरिएसँगै विकासको क्रम फेरिएको बताए ।
पछिल्लो समय पूर्वाधार विकास क्षेत्रमा विभिन्न समस्याहरु देखिएकोप्रति लक्षित गर्दै सञ्चार केन्द्र नेपालले संसदीय अर्थ समितिको सभापति दाहालको प्रमुख आतिथ्यतामा सो कार्यक्रमको आयोजना गरेको थियो ।