पर्वत। कालीगण्डकी प्रसारण करिडोरको कुश्मा–बुटवल खण्डअन्तर्गत फलेबास नगरपालिकाको देविस्थान क्षेत्रको प्रसारण लाइन सार्न विद्युत प्राधिकरण सहमत भएको छ ।
रंगशाला, बसपार्क र दुई वटा सामुदायिक विद्यालयलाई असर गर्ने भन्दै स्थानीय आन्दोलित भएपछि प्रसारण लाइनको रुट फेर्न विद्युत प्राधिकरण सकारात्मक भएको हो ।
लाइन सार्न दबाब दिएको नगरपालिकाको टोली उर्जामन्त्री पम्फा भुसाल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमक्ष हालै भेट्न गएका थिए ।
नगरप्रमुख गंगाधर तिवारीले निर्माणाधीन रंगशालाको अवस्थाबारे बुझेपछि घिसिङले रंगशाला, बसपार्क र विद्यालयलाई जोगाएर लाइन बिस्तार गर्न ३ विकल्प दिएको बताए । हाल प्रस्तावित ‘अलाइनमेन्ट’ को दक्षिणतर्फबाट विद्यालय र खेल मैदान जोगिने गरि प्रसारण लाइन लैजाने, प्रस्तावित ‘अलाइनमन्ट’ को उत्तरतर्फबाट उपयुक्त मुआब्जा दिएर लाइन लैजाने वा दुवै विकल्प समेतबाट प्रसारण लाइन लैजान प्राविधिक रूपमा असम्भव भए हालकै ‘अलाइनमेन्ट’ बाट खेलकुद मैदान र विद्यालय क्षेत्रमा न्यूनतम क्षति हुने गरी प्रसारण लाइन लैजाने विकल्प घिसिङले दिएका हुन् ।
निर्देशक घिसिङले दिएको पहिलो विकल्प उत्तम हुने भएकाले सोही विकल्पमा केन्द्रित रहेर आयोजना प्रमुखलाई काम गर्न भनेको तिवारीले बताए।
हाइटेन्सन’ लाइनले २१ करोड लागत अनुमान गरिएको र गण्डकी प्रदेशमा पोखरापछिको दोस्रो स्तरीय रंगशाला हुने अवस्थामा लाइनले त्यसको भविष्य बिगार्ने भन्दै स्थानीयले टावर निर्माणको विरोध गर्दै आइरहेका छन् । निर्देशक घिसिङले प्रस्ताव गरेको ‘अलाइनमेन्ट’ को दक्षिणतर्फबाट विद्यालय र खेलमैदान जोगिने गरी प्रसारण लाइन लैजान दिएको विकल्प र स्थानीयले राख्दै आएको माग समान भएकाले सोही विकल्प उत्तम हुने देविस्थानका वडाध्यक्ष नवीन श्रेष्ठले बताए ।
टोलीले ऊर्जामन्त्री भुसाल, ऊर्जासचिव सुशीलचन्द्र तिवारी, कालीगण्डकी प्रसारण आयोजना प्रमुख चन्दनकुमार घोषलगायतलाई भेटेका छन् । भेटका क्रममा सबैले प्राधिकरणका निर्देशक घिसिङले अघि सारेका विकल्पमा सहमति खोजेर आयोजना जतिसक्दो छिटो अघि बढाउन सहजिकरण गर्न अनुरोध गरेका थिए।
एसियाली विकास बैंकलगायत विभिन्न दातृ निकायको ऋण सहयोगमा करिब ३० अर्ब लगानीमा पर्वतको खुर्कोटदेखि बुटवलसम्ममा तीनवटा छुट्टाछुट्टै सबस्टेसन निर्माण भइरहेका छन् ।