काठमाडौं। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले प्रशासकीय भवन निर्माण गरेको छ। गाउँपालिकाले मौलिक शैलीको भवन निर्माण गरेको हो।
गाउँपालिकाको केन्द्र कागबेनीमा तिब्बती कला र संस्कृति झल्कने दुईतले २४ कोठे भवन निर्माण भएको हो।
उक्त भवनमा मुस्ताङको धार्मिक संस्कृति झल्किने गरी भित्ते लेखन र संरचना निर्माण गरिएको बताइएको छ। मौलिकता झल्किने गरी भवनको बाहिरी आवरण, फर्निचर, प्रवेशद्वारमा भित्ते लेखन र रङरोगन गरिएको गाउँपालिकाले जनाएको छ।
भवनको बाहिरी आवरणमा थान्का चित्रको दृष्य प्रष्ट्याउन खोजिएको छ। थान्का कलासंस्कृति बौद्ध दर्शनलाई सहजताका साथ व्याख्या गर्ने सजिलो माध्यम हो। बारागुङको प्रशासकीय भवनजस्तै मुस्ताङका अधिकांश गुम्बा यही शैलीमा निर्माण भएका छन्। कागबेनी–मुक्तिनाथ सडक छेउमा रहेको भवन पाहुना र पर्यटकका लागि पनि आकर्षण बनेको छ।
भवन हेरेर मुस्ताङको कला र संस्कृतिको बारेमा बुझ्न सकिन्छ। जनप्रतिनिधिको कार्यकक्षमा बौद्ध संस्कृति झल्किने थान्का झुन्ड्याएको छ। सुती र रेशमको बुट्टेदार कपडा बनाएको थान्का चित्र सजाइएको छ। बौद्ध धर्मका देवीदेवता, दृष्य र मण्डला चित्रित छन्।
सङ्घीय सरकारको समानीकरण अनुदानमा आर्थिक वर्ष २०७५।७६ देखि भवन निर्माण सुरु भएको थियो। चार हजार नौ सय ९५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको भवन निर्माणका लागि रु तीन करोड ९० लाख विनियोजन भएको थियो । गिता क्रियटिभ जेभीले ठेक्कामार्फत भवन निर्माण गरेको हो।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र विषयगत शाखाका लागि कार्यकक्षका साथै सभाहलसहितको भवन बनाइएको छ।
यो पनिः
विशेष भवन निर्माणमा समेत ढिलाइ, ठेकेदारलाई सहुलियत