काठमाडौं। गुल्मीमा अतिथि गृहको नाममा निर्माण सुरु गरिएको भवन विगत १३ वर्षदेखि अलपत्र परेको छ। जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा निर्माण सुरु गरिएको अतिथि गृह भवन विगत १३ वर्षदेखि अलपत्र परेको हो।
वि.सं. २०६६ को मध्यतिर रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर ४ स्थित श्रृङ्गेश्वर तपोभूमि मन्दिरनजिकै निर्माण सुरु गरिएको भवन अलपत्र परेको स्थानीय फर्सुराम ज्ञवालीले जानकारी दिए। “अतिथि गृहको नाममा निर्माण सुरु गरिएको भवन अहिले निकै जीर्ण अवस्थामा,” स्थानीय ज्ञवालीले भने, “बजेट अभावमा भवन अलपत्र परेको हो।”
विनियोजित वजेटबात भवनको बनावटमात्र निर्माण भएको र पछि बजेट विनियोजित नहुँदा भवन अलपत्र परेको उनको भनाइ छ। श्रृङ्गेश्वर तपोभूमि धामक्षेत्र संरक्षण तथा व्यवस्थापन समितिको रेखदेखमा स्थानीय दामेन्द्र पाण्डेले अतिथि गृह भवन निर्माणको जिम्मा पाएका थिए। उनका अनुसार भवन निर्माणका लागि वि.सं २०६६ मा १० लाख र वि.कमसं २०६७ मा १२ लाख गरेर कुल २२ लाख रुपैयाँ बजेट आएको थियो। “पहिलो ०६६ को मध्यतिर १० लाख र पछिल्लो ०६७ को मध्यतिर १२ लाख बजेट आएको हो।” निर्माणको जिम्मा पाएका पाण्डेले भने, “कुल २२ लाख बराबरको काम भयो, पछि बजेट नआएकाले भवन सोही अवस्थामा रहेको छ।”
उनले तत्कालीन समयमा पनि भवनको बनाबट निर्माणका लागि कुल २२ लाख रुपैयाँ खर्च भएको जिकिर गरे। भवन दुई तला ढलान भएको छ। भुइँतलामा इट्टा लगाइएको छ। पहिलो तलामा पिल्लर उठाएर मात्र ढलान गरिएको छ। सिँढीका लागि दोस्रो तलाको सिँढीको भागमा पिल्लर उठाएर ढलान गरिएको छ। तत्कालीन समयमा सोही भवन निर्माणका लागि त्यति ठूलो रकम खर्च हुन नसक्ने विवाद चलिरहे पनि उनले सबै बजेट पूर्णरूपमा भवन निर्माणको काममा खर्च भएको भन्दै आएका छन्।
तत्कालीन रुरु–रेसुङ्गा विकास समितिको पहलमा विनियोजित बजेटमार्फत काम भए पनि पछि उक्त विकास समितिले चासो नदेखाएको श्रृङ्गेश्वर तपोभूमि धामक्षेत्र संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष फर्सुराम ज्ञवालीले बताए। “दुई पटकसम्म रुरु–रेसुङ्गा विकास समितिले बजेट पारेपछि काम सुरु गरेका हौं।” रेखदेख समितिका अध्यक्ष ज्ञवालीले भने, “पछिल्लो पटक राजनीतिक संयन्त्रले समेत चासोे नदेखाएपछि भवन जीर्ण हुदै गएको हो।” उनका अनुसार बजेट अभावमा भवन अलपत्र परेपछि श्रृङ्गेश्वर तपोभूमि धामक्षेत्र संरक्षण तथा व्यवस्थापन समितिले केही काम गर्न सकेन।
रुरुक्षेत्र गाउँपालिका–४ का वडाध्यक्ष मोतीप्रसाद श्रेष्ठले सबै क्षेत्रको लापरबाहीबाट अतिथि गृह भवन जीर्ण अवस्थामा पुगेको बताए। “सुरुमा भवनको निर्माणले केही आशा देखिन थालेका थिए, पछि बजेट अभाव हुँदा भवन अहिले जीर्ण अवस्थामा छ,” उनले भने। भवनको माथिल्लो तला धेरै जीर्ण भएकोले भत्काउने र भुँइतलालाई मात्र प्रयोगमा ल्याउने योजना रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए। अघिल्लो पटक निर्वाचित जनप्रतिनिधिले अतिथि गृह भवनलाई बेवास्ता गरे पनि आफूहरूले अब भवन व्यवस्थित बनाएर प्रयोगमा ल्याउने वडाध्यक्ष श्रेष्ठको भनाइ छ। कारोबारबाट