काठमाडौं। नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई अफर सहितको निःशुल्क सिम उपलब्ध गराउने भएको छ ।एसईई दिएका विद्यार्थीका लागि अफरस्वरूप टेलिकमले बोनससहितको निःशुल्क सिम उपलब्ध गराउने भएको हो।
पहिलेदेखि नेपाल टेलिकमको सिम भएका विद्यार्थीले भने पुरानै सिमबाट पनि टेलिकमको अफर प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको टेलिकमले जनाएको छ।
निःशुल्क सिम लिनका लागि विद्यार्थीहरुले एसईइको प्रवेश पत्र वा मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ । सिम लिइसकेपछि स्टुडेन्ट रजिस्टेसन प्याक प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट *१६००# मा डायल गरी पाइने निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति (विक्रम सम्वत) उल्लेख गर्नुपर्दछ ।
उक्त स्टुडेन्ट रजिस्टेसन प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यस अनुसार ३० दिनसम्म ३ हजार एमबी डाटा, ३०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ।
यो अफर भएको नयाँ सिममा बोनस अन रिचार्ज प्याक समेत उपलब्ध गराइएको छ । यस प्याकमा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ ।
विद्यार्थीहरुले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा स्टुडेन्ट रजिस्टेसन प्याक उपयोग गर्नको लागि प्रयोग गरिरहेको मोबाइलबाट *१६००# मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ । त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा उक्त सिमलाई विद्यार्थी सिमका रुपमा रजिष्टर गर्दछ र स्टुडेन्ट रजिस्टेसन प्याक अनुसारका सुविधाहरु प्राप्त गर्न सकिनेछ ।