काठमाडौं। २०७२ को भूकम्पले क्षति पुगेर जिर्ण बनेको त्रिचन्द्र बहुमुखी क्याम्पसको पुनर्निर्माण सरकार आफैंले गर्ने भएको छ। भारतीय एक्जिम बैंकको ऋण सहयोगमा पुनर्निर्माण हुने सूची हटाएर सरकार आफैंले पुनर्निर्माण गर्न लागेको हो।
पुनर्निर्माणका लागि पहिलो चरणमा ५० करोड रुपैयाँ बजेट छुट्टाउने शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए। प्रधानमन्त्री शेरबहादुर देउवाले गत आइतबार क्याम्पस पुनर्निर्माणको विषयमा शिक्षामन्त्रीसहित सरोकारवालासँग छलफल गरेका थिए । छलफलपछि क्याम्पस पुनर्निर्माणका लागि ५०–७० करोड रुपैयाँ बजेट तत्काल छुट्याउने निष्कर्ष निकालिएको मन्त्री पौडेलले बताए ।
प्राधिकरण खारेजीसँगै पुनर्निर्माणको बाँकी काम सम्बन्धित मन्त्रालयले नै सम्हालेको छ । त्रिचन्द्र पुनर्निर्माणको काम शिक्षा इकाइअन्तर्गत नै गर्ने गरी छलफल चलेको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदास बैरागी, अर्थसचिव मधु मरासैनी, शिक्षा सचिव रामकृष्ण सुवेदी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटा, क्याम्पस प्रमुख सुनील अधिकारीलाई डाकेर क्याम्पस पुनर्निर्माण थाल्न निर्देशन दिएका थिए । आउँदो साता नै टेन्डर प्रक्रियामा जाने गरी काम थाल्न प्रधानमन्त्रीले निर्देशन दिएको क्याम्पस प्रमुख अधिकारीले बताए ।
त्रिचन्द्रको १०५ वर्षे पुरानो भवन जगैदेखि पुरानै शैलीमा नयाँ बनाउने सहमति भएको उनले जनाए ।उनले भने, ‘आधा भागचाहिँ नयाँ नै बनाउनुपर्ने अवस्था छ। भूकम्पपछिको ७ बर्खा खेपिसक्यो, प्रत्येक बर्खा पानी छिरेर चुना र सुर्की गलेर गयो ।’
एक्जिम बैंकअन्तर्गत त्रिचन्द्र पुनर्निर्माण गर्न २ अर्ब लगानी प्रस्ताव गरिएको छ । त्यसका लागि डीपीआरको काम भइरहेको छ । बैंकअन्तर्गत काम थाल्न अझै ६ महिना लाग्ने भएपछि सरकारले नै पुनर्निर्माण गर्न अग्रसरता देखाएको हो ।