काठमाडाैं । सतुङ्गलस्थित बाहिरी चक्रपथ विकास आयोजनाको साइट कार्यालय बन्द भएको छ । सो आयोजनामा कार्यरत करार, ज्यालादारी र अस्थायी कर्मचारीसमेत हटाइएका छन् । चालू आर्थिक वर्ष २०७९/८० मा कर्मचारीको म्याद थपिएको छैन । यसअघि आयोजना सुरु भएदेखि नै हरेक छ/छ महिनामा उनीहरूको म्याद थपिँदै आएको थियो ।
विगत १८ वर्षदेखि कागजमा सीमित रहेको आयोजनाको साइट कार्यालय र स्थायीबाहेकका कर्मचारीको म्याद थप नभएपछि राज्यको मासिक लाखौँ रुपियाँ जोगिएको छ ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख जानुका ढकालले नयाँ आर्थिक वर्षमा बाहिरी चक्रपथ विकास आयोजनामा कार्यरत स्थायी सेवाबाहेकका कर्मचारीको अवधि नथपिएको जानकारी दिए। आयोजनाको काम अगाडि बढ्न नसकेकाले नयाँ आर्थिक वर्षमा स्थायी सेवाबाहेकका कर्मचारीको अवधि थप नगरिएको स्पष्ट पारे ।
उनले सो आयोजना निर्माणका लागि नयाँ रेखाङ्कन (एलाइन्मेट) को अध्ययन सुरु भएपछि आवश्यकताका आधारमा नयाँ प्राविधिक कर्मचारी भर्ना गरिने जानकारी दिए ।
सो आयोजनामा सुरुदेखि नै उपसचिवदेखि कार्यालय सहयोगी तहसम्मका करार कर्मचारी भर्ना गरी तलब सुविधा दिँदै आइएका थिए । एक इन्च पनि काम अगाडि बढ्न नसकेको सो आयोजनामा कार्यरत १६ जना कर्मचारीमध्ये १३ करार थिए । आयोजनाका कर्मचारीको काम कार्यालयमा आउने, घाम ताप्ने, तलब भत्ता लिने मात्रै भएको कार्यालयकै कर्मचारी बताउँछन् ।
सो आयोजनाले साइट कार्यालय सञ्चालन, फर्निचर, कम्प्युटर खरिद, बिजुली बत्ती, पानी, फोन, नेट, मसलन्द खर्च आदिको नाममा मासिक लाखौँ रुपियाँ खर्च गर्दै आएको थियो । आयोजनाको प्रारम्भदेखि नै काठमाडौँको सतुङ्गलमा मासिक २२ हजार रुपियाँ भाडा तिर्ने गरी साइट कार्यालय सञ्चालन हुँदै आएको थियो ।
प्राधिकरणका प्रमुख ढकालले बाहिरी चक्रपथ विकास आयोजनाको साइट कार्यालय असारदेखि नै बन्द भएको जानकारी दिए । उनका अनुसार साइट कार्यालयमा रहेका सामान काठमाडौँ उपत्यका विकास प्राधिकरणको केन्द्रीय कार्यालयमा ल्याइसकिएको छ । बाहिरी चक्रपथ विकास आयोजनाबारे गोरखापत्र दैनिकले समाचार प्रकाशन गरेको केही दिनपछि नै साइट कार्यालय बन्द गरिएको उनले बताए । गोरखापत्रले असार ८ र ९ गते समाचार र सम्पादकीय प्रकाशन गरेको थियो ।
सो आयोजनाको साइट कार्यालय रहेको घरका घरधनी नारायणभक्त जोशीले १८ वर्षदेखि आफ्नो घरमा रहेको बाहिरी चक्रपथ विकास आयोजनाको साइट कार्यालय असारदेखि बन्द भएको बताए।
उनले भने, ‘‘गोरखापत्रका पत्रकारहरू साइट कार्यालय हेर्न आएको केही दिनपछि नै काठमाडौँबाट काठमाडौँ उपत्यका विकास प्राधिकरणका हाकिमहरू आएर भाडा र बिजुलीबत्तीको हिसाबकिताब गरी मेरो घर खाली गर्नुभएको हो ।’’ गाेरखापत्रबाट
याे पनि:
बाहिरी चक्रपथ आयोजनामा चरम अनियमितता, १८ वर्षदेखि कामबिना भाडामा कार्यालय