काठमााडौं। बाँके जिल्लाका अन्य क्षेत्रको तुलनामा विकास निर्माणमा पछाडि परेको राप्तीपारिका क्षेत्रमा क्रमशः विकासले गति लिंदै गएको छ।
गतवर्ष मात्रै नेपालगञ्जदेखि नरौपुर सुईया बघौडासम्मको सडक निर्माण सम्पन्न भै कालोपत्रे समेत भएको र विद्युत् पनि सो क्षेत्रसम्म पुगेको थियो। सडक र विद्युत् पुगेपछि स्थानीयले विकासको अनुभूति गर्न थालेका छन्।
नेपालगञ्जलाई राप्तीसोनारी र नरैनापुर गाउँपालिकासँग जोड्ने एक मात्र माध्यम कम्दीस्थित राप्तीनदी र डुडुवा खोलामा निर्माण गरिएका पुलहरु निकै साँघुरा र जीर्ण बनेपछि ती दुबै पुल नयाँ र ठूला निर्माण गरिने भएका छन्।
ती दुबै पुल साना र जीर्ण भएकोले राप्तीपारसका बासिन्दालाई सदरमुकाम आउन जान निकै समस्या हुने गरेको तथा वर्षामा बाटो नै अवरुद्ध हुने गरेकोले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ती दुबै पुल नयाँ बनाउने भएको हो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले राप्ती नदी र डुडुवा खोलामा नयाँ पुल निर्माण गर्ने प्रक्रिया अघि बढिसकेको बताए।
उनले ती दुबै पुल निर्माणसंगै डडुवा गाउँपालिका ४ सिधनियादेखि नेपालगञ्जको पुष्पलाल चोकसम्मको हुलाकी सडकलाई स्तरवृद्धि गर्ने निर्णय मन्त्रालय गरिसकेको बताए।
राप्तीपारिको ठूलो क्षेत्रलाई नेपालगञ्जसँग जोड्ने राप्ती नदीको पुल र डुडुवा खोलाको पुल नयाँ निर्माण भएपछि यस क्षेत्रको विकासले ठूलो फड्को मार्ने नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए।
उनले एक पटकमा एउटा मात्र गाडी पास हुने र निकै साँघुरो तथा छोटो राप्तीपुलले जनतालाई आवागमनमा समस्या भैरहेकोले अब चौडा र लामो पुल बन्ने भएपछि नरैनापुरवासी सबैभन्दा बढी खुशी भएको बताए।
सोही प्रकारको प्रतिक्रिया राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलको पनि छ। उनले पनि राप्तीनदीमा निर्माण गरिएको पुल निकै साँघुरो र पुरानो भैसकेकोले नयाँ बन्नुपर्ने माग गरिरहेको बेला बन्ने सुनिएपछि खुशी लागेको बताए।
वर्षा हुने बित्तिकै पुल अगाडिको भागमा पनि नदी बग्ने गरेकोले आवागमन अवरुद्ध हुने हुँदा लामो समयदेखि निकै लामो पुलको माग डुडुवाका स्थानीयले गर्दै आएको स्थानीय राजेन्द्र विश्वकर्माले बताए।
सोही प्रकारले मन्त्री राईले राप्तीनदीको होलिया छिटाईपुर्वामा पनि पुलको आवश्यकता रहेको जनाउँदै उक्त स्थानमा पुल निमार्णका लागि समेत योजना बनाइरहेको बताए।
पुलको अभावमा त्यहाँका स्थानीयका लागि नदी वारपार तथा अवतजावत गर्न हिउँदमा डुङ्गाको भर पर्नुपर्ने र वर्षामा आवागमन बन्द हुने हुँदा राप्तीपारि पाझा, चौफेरी लगायतका गाउँ र नरैनापुर गाउँपालिकासँग प्रत्यक्ष सम्पर्क टुट्ने गरेको छ। गोरखापत्रबाट