काठमाण्डौं। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन निलगिरी दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थु्रु’ भएको छ। निलगिरी खोला हाइड्रोपावर प्रवद्र्धक रहेको ७१ मेगावाट क्षमताको आयोजनाको चार हजार २७५ मिटर सुरुङ निर्माण बिहीबार जोडिएको हो।
आयोजनाले पाँच वटा अडिटबाट सुरुङ खनिएको बताएको छ। नारच्याङको दोभानस्थित विद्युत्गृह र छोटेपाको बाँधतर्फबाट विसं २०७६ देखि सुरुङ निर्माण थालिएको थियो। सुरुङ निर्माणलाई जलविद्युत् आयोजनाको मुख्य काम मान्ने गरिएको छ।
ब्रेक थु्रु भएको अवसरमा आयोजनाका प्रवद्र्धक, प्राविधिक, कर्मचारी, परामर्शदाता र निर्माण कम्पनीका प्रतिनिधिले खुसीयाली मनाएका थिए।“ब्रेक थ्रु भएको टनेलको फिनिसिङ गर्ने तयारी छ।
अठतीस दशमलव सात मेगावाटको निलगिरी पहिलोको विद्युत्गृहबाट निस्कने पानीलाई बाँध बनाएर निलगिरी क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण भइरहेको छ। दुई वटै आयोजनाको प्रवद्र्धक एउटै निलगिरी हाइड्रोपावर हो। निलगिरी पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युत्गृह निर्माण थालिएको बताइएको छ।
क्यासकेडको विद्युत्गृहदेखि निलगिरी पहिलोको बाँध हुमखोलासम्म १३ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ। छोटेपामा ३० मिटर लामो बेलिब्रिज निर्माण गरिएको छ। बस्तीदेखि टाढा रहेको निलगिरी खोला जलविद्युत् आयोजना निर्माणस्थल भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्छ।
१३ अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन्। निलगिरीखोलाबाट उत्पादन भएको बिजुली २२० केभी क्षमताको दाना सव स्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ।