काठमाडौं। व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गतको बुटवल-बेलहिया सडकको ठेक्का तोड्न प्रक्रिया अगाडि बढाइएको छ। यसका लागि आयोजनाले शुक्रबार एक सूचना जारी गर्दै तीनवटा निर्माण कम्पनीहरुसँग ठेक्का सम्झौता तोड्नका लागि स्पष्टिकरण मागेको छ।
बुटवल–बेलहिया सडक १० वर्षदेखि अलपत्र छ। यो सडक तीन वर्षभित्र सक्ने गरी काम थालिएको थियो। आर्थिक वर्ष २०६८/६९ बाट निर्माण थालिएको यो सडक ६ लेनको व्यापारिक मार्गका रुपमा निर्माण गर्ने गरी अघि बढाइएको हो।
आयोजनाले यसमा पटकपटक ठेक्काको म्याद थप्दा पनि निर्माण कार्य सम्पन्न नगरेकाले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको बताएको छ। यस्तै अरु खण्डको निर्माण कार्य गरिरहेका अन्य जेभी निर्माण कम्पनीहरु बिरुवा/श्रेष्ठ।/एपेक्स र द कञ्चनजंगा/बिरुवा जेभीको पनि ठेक्का तोड्न प्रक्रिया अगाडि बढाइएको आयोजनाको भनाइ छ।
आयोजनाले पटकपटक यी निर्माण व्यवसायीहरुलाई समयमा काम सम्पन्न गर्ने आधारसहितको कार्यतालिका पेश गर्न ताकेता गरेको थियो। तर यी निर्माण कम्पनीहरुले आयोजनाको उक्त ताकेतालाई वेवास्ता गर्दै निर्माण कार्य गम्भीर भएर अघि बढाएका थिएनन्।
यी कम्पनीहरुले निर्माणाधीन सडक विस्तारको काम लामो समयदेखि जारी राख्दा पनि न्युन प्रगति देखिएको, केहीको थपिएको म्याद समेत समाप्त भएको र बाह्य समस्याबिना नै पनि लामो समयसम्म निर्माण कार्य रोकिएका कारण ठेक्का तोड्न लागिएको आयोजनाको भनाइ छ।
चौराहादेखि चिडियाखोलासम्म ४७ करोड २७ लाख रुपैयाँमा द कञ्चनजंघारबिरुवा कन्ट्रक्सन जेभीसंग ठेक्का सम्झौता गरिएको थियो। उक्त सडक खण्डको हालसम्म तीनपटकसम्म म्याद थप भइसकेको छ। २०७३ चैत १७ मा ठेक्का सम्झौता भएपछि २०७६ असोज १२ मा सक्नुपर्ने गरी तय भएको थियो। काम नसकिएपछि पहिलो म्याद २०७७ जेठ २ मा सक्नुपर्ने सम्झौता भए पनि निर्माणले गति लिन सकेन। पुनः दोस्रोपटक २०७९ असार मसान्तमा सक्ने गरी म्याद थप भएको आयोजनाले जनाएको छ।
निर्माणको ठेक्का लिएको द कञ्चनजंघा बिरुवा जेभीले पेस्कीस्वरूप मर्मतका लागि ८ करोड २६ लाख रुपैयाँ बुझिसकेको छ। खाल्डाखुल्डी र धुलोका कारण बजारको मुख्य सडकमा बिहानदेखि साँझसम्मै ट्राफिक जाम हुन्छ। ओहोरदोहोर गर्ने सवारीसाधन हिलोमा फसेर मोटरसाइकल, साइकल र पैदलयात्री सबैभन्दा बढी मारमा पर्ने गरेका छन्।
भैरहवा अंचलपुरदेखि लखनचोकसम्मको बिरुवा एपेक्स श्रेष्ठ जेभी र भन्सार नाका बेलहियादेखि डण्डाखोला पुलपारीसम्मको बिरुवा जेभीले सडक विस्तारको जिम्मा लिएको छ। बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक ६ लेन बनाउन यो सडक निर्माणका लागि कञ्चनजंगा बिरूवा जेभीले २०७३ चैत्र १७ ठेक्का पाएको थियो। बुटवल राजमार्ग चौराहदेखि गोलपार्कसम्म करिब ३ किलोमिटर लामो यो सडकको लागत करिब ६० करोड रहेको छ।
आयोजनाका अनुसार गत आर्थिक वर्षमा २९ करोड १६ लाख निकासा भएकोमध्ये ९ करोड ५० लाख खर्च भएको छ। यस हिसाबले ३३ प्रतिशत वित्तीय भएको यो आयोजनाको भौतिक प्रगति अहिलेसम्म जम्मा ४५ प्रतिशत भएको देखिन्छ। जसमध्ये नौवटा आकाशे पुल निर्माण सम्पन्न भएको छ।
शंकरनगर, मणिग्राम, भलबारी, कोटिहवा र ठुटिपिपलमा गरी ५ वटा ठेक्काको हाल व्यवस्थापन भइरहेको छ। यसैगरी सडकको बीच र दुवैतर्फ सर्भिस लेनमा ८ किलोमिटरमा बत्ती व्यवस्थापनको काम भइरहेको आयोजनाले जनाएको छ। कुल ५० मिटर चौडाई र २७।५० किलोमिटर लम्बाईको यो सडक ६ अर्ब १३ करोड रुपैयाँमा विस्तार हुन लागेको हो। जसमध्ये ५ अर्ब ५९ करोड रुपैयाँ खर्च भइसकेको छ। बिजमान्डुबाट